काठमाडौं – कञ्चनपुरमा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको बसको ठक्करबाट मृत्यु भएको हो ।
सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड इङगलिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए । विद्यार्थी उतारेर बस अघि बढ्दा सोही स्कुलमै अध्ययरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो ।
भारतको लखनौंस्थित ईभीए अस्पतालमा उपचारको क्रममा बालकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका छन् । दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएका उनीहरुले आक्रोशित विद्यालयभित्रबाट फर्निचर निकालेर आगो लगाएका छन् ।