काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश हुनुभएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकमा निरौला र पाण्डेयले कार्ययोजना र अवधारणा प्रस्तुत गर्नुभएको थियो । त्यसपछि सांसदले निरौलाका सम्बन्धमा प्राप्त उजुरीका आधारमा थप प्रश्न गरेका थिए । न्यायाधीश सिफारिश पाण्डेयविरुद्ध भने उजुरी परेको थिएन ।
न्याय परिषद्को असोज ११ गतेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको थियो । दुवै जना न्यायाधीशले स्वतन्त्र, निष्पक्ष, छरितो र गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार एवम् दायित्व हुने र त्यहीअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।