विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई हरायो

काठमाडौं – आईसीसी महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो ।

नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् । कप्तान पूजा महतो र रीया शर्माले समान दुईदुई विकेट लिए । त्यसैगरी करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन् । यसैगरी सिमाना केसी र सोनी पाख्रिनले समान १९-१९ रन बनाए ।

थाइल्यान्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन् । यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्