काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई अनुसन्धानको बहानामा निरन्तर हिरासतमा राख्नु प्रतिशोध भएको टिप्पणी गरेको छ । एक प्रेस नोट जारी गर्दै रास्वपाले सभापति लामिछानेलाई सहकारी ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको भए पनि संसदीय छानबिन समितिले यसमा कुनै संलग्नता नरहेको स्पष्ट गरिसकेको दोहोर्याउँदै हिरासतमा राख्नु प्रतिशोध भएको टिप्पणी गरेको हो ।
संसदीय छानबिन समितिको प्रतिवेदनका बाबजुद सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई निरन्तरता दिँदै सभापति लामिछानेलाई बारम्बार हिरासतमा राख्ने प्रयास भएकोप्रति पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ । प्रेस नोटमार्फत सभापति लामिछानेको हिरासतमा राखेर मात्रै अनुसन्धान गर्नुपर्ने कुनै कानुनी आधार नभएको र उनलाई हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था कार्यान्वयन गर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।
साथै मंगलबार पोखरामा सभापति लामिछानेको गिरफ्तारीको विरोधमा र सहकारी पीडितहरूलाई न्याय दिलाउन माग गर्दै भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरिएको घटनाप्रति पनि पार्टीले गम्भीर आपत्ति जनाएको छ । रत्न चोक हुँदै वाईचोकमा भएको प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गरी छटा अश्रुग्यासका सेल प्रहार गर्नुका साथै १५ जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको पार्टीले जनाएको छ ।
यसैगरी, समाचार संकलन गर्न गएका पत्रकार राजकुमार माझी लगायत अन्य पत्रकारहरूलाई प्रहरीले हातपात गर्नुका साथै सञ्चार सामग्री तोडफोड गरेको घटनाको कडा भर्त्सना गरेको छ । पत्रकारहरूमाथिको यो हस्तक्षेपले प्रेस स्वतन्त्रतामाथि अतिक्रमण भएको भन्दै यस प्रकारको घटनाको विरोध गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मानव अधिकार चोक पोखरा लगायत देशभरका विभिन्न जिल्लामा अपराह्न ४ बजे विरोध प्रदर्शन गर्ने कार्यक्रमको पनि जानकारी गराएको छ । पार्टीले यो घटनामा सम्बद्ध सबैलाई ध्यानाकर्षण गराउँदै सभापति लामिछानेको तत्काल रिहाइ र सहकारी पीडितहरूको मुद्दामा न्यायको सुनिश्चितता गर्न आग्रह गरेको छ ।