नेपालमा कोरोना संक्रमणको तेस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’

काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।

भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा गत शुक्रबार नै कोरोना संक्रमण रहेको पुष्टि भइसकेको थियो भने विराटनगरका थप एकजनामा शनिबार संक्रमण भेटिएको थियो । यस्तै, मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी कुल ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि गर्दै संक्रमितको कुल संख्या ४२ पुगेको जनाएको छ ।

सुरुमा कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकजनाको रिपोर्ट आउन बाँकी नै थियो । यस्तोमा पोजिटिभ देखिएका ८ जनालाई भुल्केबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको हो । साथै, मंगलबार नै भुल्केकै तीनजनाको काठमाडौंमा परिक्षण गर्दा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

नेपाली सेनाको चिकित्सकीय टोलीले आइतबार २ सय ५१ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएकोमा हालसम्म भएको परिक्षणमा तीनजनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ ।
कान्तिपुरको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्