नेपालमा भेटिएका ८४ प्रतिशत कोरोना संक्रमितमा कुनै लक्षण थिएन

काठमाडौँ — मुलुकमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका कोभिड–१९ का बिरामीमध्ये ८४ प्रतिशतमा कुनै पनि लक्षण थिएन । कुल संक्रमित ३१ मध्ये २६ जनाले आफूलाई कुनै पनि प्रकारको अस्वस्थता र बिरामी अनुभव नभएको चिकित्सकीय जाँचमा बताएका हुन् । लक्षणविहीन संक्रमितलाई चिकित्सा भाषामा ‘एसिम्प्टोम्याटिक’ भनिन्छ ।

सबैभन्दा बढी संक्रमित १३ जना विराटनगरको कोसी अस्पतालमा छन् । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार त्यहाँ सबै सक्रमित ‘स्वस्थ’ छन्। उनीहरूमा कोभिड–१९ को कुनै लक्षण देखिएको छैन । ‘उहाँहरूले कुनै प्रकारको शारीरिक अस्वस्थता पनि अनुभव गर्नुभएको छैन,’ डा. मिश्रले भनिन् ।

कोसी अस्पतालमा २० देखि ३० वर्ष उमेर समूहका १० जना छन् । अरू ३४ वर्ष, ४० वर्ष र ६५ वर्षका छन् ।

कोसीपछि सबैभन्दा बढी बिरामी सुदूरपश्चिमको सेती अञ्चल अस्पतालमा चार जना उपचाररत छन् भने एक जना निको भएर गइसकेका छन् । भर्ना भएका पाँच जनामध्ये चार जनामा कोभिड–१९ को लक्षण नदेखिएको अस्पतालका डा. शेरबहादुर कमरले जानकारी दिए ।

सेतीमा कोभिड–१९ का पहिलो बिरामीमा एक÷दुई दिन सामान्य ज्वरो, सुक्खा खोकी र अलिअलि घाँटी दुखेको थियो । दुई दिन पातलो दिसा भएको थियो । ‘त्यो मधुरो लक्षण हो,’ डा. कमरले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्