बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी भन्छन् नेपाल फर्किन चाहन्छौँ, परराष्ट्र भन्छ पत्रबारे जानकारी छैन्

काठमाडौं – नेपालको पूर्वी नाका फूलबारीबाट नजिकैको दुरीमा सार्क राष्ट्र बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू कोरोनाको त्रासले नेपाल फर्किन चाहन्छन् ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिन थालेपछि बंगलादेश सरकारले गत मार्च २६ देखि देशव्यापी लकडाउन घोषणा गरेको छ । तर, लकडाउनको राम्ररी पालना हुन नसकेपछि अहिले पनि सडकमा आवागमन बाक्लै रहेको स्थितिमा कोरोनाको प्रकोप फैलिनसक्ने आशंकाले नेपाली विद्यार्थीहरु चिन्तित बनेका हुन् ।

बंगलादेशमा ३र४ हजारको संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । कोरोनाको त्रास बढ्दै गएपछि अधिकांश विद्यार्थी घर फर्किएको नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नवीन यादवले बताए ।
यादवका अनुसार अहिले करिब सात सय नेपाली विद्यार्थी मात्र बंगलादेशमा छन् । शैक्षिक संस्थाहरू सबै बन्द रहेका र सरकारले लकडाउन गरेकाले विद्यार्थीहरु आ–आफ्नो होस्टलभित्रै बसिरहेका छन् ।

‘अहिले यहाँ सात सय जति विद्यार्थीहरू छौँ, सबैजना तत्काल नेपाल फर्किन चाहन्छन् किनकी यहाँ संक्रमणको जोखिम उच्च छ,’ यादवले भने । नेपाल फर्किने प्रवन्ध मिलाइदिन विद्यार्थीहरुले ढाकास्थित नेपाली दूतावास र नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई तीन दिन अगाडि पत्र पठाएका थिए । तर, ठोस जवाफ आएको छैन ।

यता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बंगलादेशका विद्यार्थीहरुबाट परराष्ट्रमा कुनै लिखित पत्र नआएको बताए । उनले सबै देशमा रहेका नेपाली दूतावासलाई त्यहाँ रहेका नेपालीहरुलाई आवश्यक समन्वय र सहयोग गर्न भनिएको स्मरण गराए ।

‘हामीले बंगलादेश मात्र होइन, अरु सबै देशका दूतावासलाई भनेका छौँ । अरु कुरा मेरो जानकारीमा छैन,’ पौडेलले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्