१२ जना संक्रमितमा कुनै लक्षण देखिएन, सामान्य औषधि चलाइयो

विराटनगर – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ ।

उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले भने,–चिकित्सकीय निगरानीमा रहनु भएका उहाँमा कुनै लक्षण देखिएको छैन ।
मैले १५ मिनेट जति उहाँहरुसँग प्रत्यक्ष कुराकानी गरें, मेसु मिश्राले भने–उहाँहरुलाई अहिले स्वास फेर्नदेखि रुघाखोकीसम्मको समस्या छैन । संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएकाले सामान्य (न्यूनतम) औषधी चलाउन बाहेकको काम गरिएको छैन ।

इन्फेक्सन छ तर विरामीलाई थाहा छैन, र समस्या पनि छैन भने एन्टीबायोटिक चलाउनु पर्ने अवस्था हुँदैन । विशेषज्ञ फिजिसियन डा. दीपक सिग्देलले अहिलेसम्म उनीहरुमा समस्या नदेखिएको बताउँदै बारम्बार चिकित्सकीय निगरानी आवश्यक रहेको बताए ।
संक्रमितलाई कुनै लक्षण नदेखिए पनि उनीहरुलाई कुनैपनि समयमा समस्या पर्नसक्ने कुरालाई विचार गरी सोही अनुसारको तयारी भएको छ । ८० प्रतिशत संक्रमितको अवस्था सामान्य हुने भएका कारण जोखिम फैलन सक्ने संभावना धेरै हुने मानिएको छ ।
उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बस्दैै आएका ११ जना भारतीयसहित एकजना नेपालीमा कोरोना संक्रमित पुष्टि भएपछि उनीरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको हो ।

उनीहरुसहित थप चारजनालाई पनि सँगै ल्याइएको छ । संक्रमित को–को हुन् भन्ने कुरा पहिचान गर्न नसकेपछि १६ जनालाई नै ल्याउनु परेको थियो । हाल संक्रमण पुष्टि नभएका चार जनाको पहिचान गरी उनीहरुलाई अर्कै स्थानमा क्वारेन्टाइनमा राखिएको छ । संक्रमितमध्ये एकजना नेपाली नागरिक विराटनगर निवासी हुन् ।

स्वास्थ्यकर्मीलाई छुट्टै आवास
कोरोना संक्रमितको उपचारमा संलग्न कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अलग्गै बासस्थानमा राखिने भएको छ ।
संक्रमित पुष्टि भएसँगै चिकित्सकको निगरानीमा राखिने उनीहरुलाई हेर्ने स्वास्थ्यकर्मीलाई छुट्टै बासस्थानमा राख्ने तयारी गरिएको हो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विराटनगर–७ मा रहेको जैन तेरापन्थको भवनमा वासस्थान मिलाउने भएको हो ।
जैर तेरापन्थी सभा विराटनगरले स्वास्थ्यकर्मी राख्नका लागि भवनका १९ वटा कोठा निःशुल्क रुपमा प्रदेश सरकारलाई उपलब्ध गराउने भएको छ । सुविधा सम्पन्न र विशिष्टहरुका लागि समेत बस्ने गरि निर्माण गरिएको भवनको शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे र कोशी अस्पतालका मेसु डा.संगिता मिश्रले अवलोकन गरेका छन् ।
तरापन्थी सभा विराटनगरका अध्यक्ष जितेन्द्र गोल्छाले विश्वव्यापी महामारीमा जैन धर्मालम्बीहरुको तर्फबाट राज्यलाई गर्नुपर्ने सहयोगको रुपमा भवन प्रयोग गर्न दिने बताए । सुविधा सम्पन्न भवन स्वास्थ्यकर्मीका लागि पायक पर्ने स्थानमा समेत रहेको छ ।
सामाजिक विकास मन्त्री घिमिरेले उपचारमा संलग्न चिकित्सकका लागि सरकारले सबै हिसाबले व्यवस्थापन मिलाउने बताए । उनले चिकित्सकको सुरक्षासँगै उनीहरुको दैनिक सुविधामा कुनै पनि समस्या उत्पन्न हुन नदिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्