भक्तपुरमा एड्स परीक्षण वढ्दो, रोगी घट्दो

FILE PHOTO

भक्तपुर, २६ मंसिर । भक्तपुरमा एचआईभी एड्सको परीक्षण गर्नेहरुको संख्या वढ्दो र रोगीहरुको संख्या घटदो रहेको तथ्यांक देखिएको छ ।

स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले दिएको तथ्यांकमा यस्तो पाइएको हो ।

 

तथ्यांक अनुसार भक्तपुरमा आव २०७८/०७९ मा परीक्षण गर्नेहरुको संख्या नौ हजार पाँंच सय २६ जना रहेका थिए । त्यसमध्ये पहिचान २८ जनाको भएको थियो ।

 

साथै आर्थिक वर्ष २०७९।८० मा सात हजार दुई सय २९ जनाले परीक्षण गरेकोमा, रोगी ४० जना भेटिएका थिए । साथसाथै चालू आर्थिक वर्षको अहिलेसम्म एक हजार ६ सय ९० जनाले परीक्षण गरेकोमा रोगी ६ जना भेटिएका छन् ।

 

हाल जिल्लामा एचआईभी एड्स संक्रिमित रोगीहरुको संख्या एक सय २९ जना रहेका छन् । उनीहरुमध्ये ४२ जना महिला, चार जना यौनिक अल्पसंख्यक र बाँंकी पुरुष रहेका छन् ।

 

कार्यालयका फोकल पर्सन भोलानाथ पौडेलले देशैभरि जस्तै भक्तपुरमा पनि एचआईभी एड्स संक्रमितहरुको संख्या निरन्तर झरिरहेको बताए ।
तथ्यांक नै हेर्ने हो भने आथिक वर्ष २०७८/०७९ मा एक सय ७७ पुराना र नयाँं ४७ जना नयाँं, आर्थिक वर्ष २०७९/८० मा एक सय २६ जना पुराना र ३७ जना नयाँं तथा चालू आर्थिक वर्ष २०८०।८१ को हालसम्म एक सय २९ पुराना र आठ जना नयाँं संक्रमित रहेका छन् ।

भक्तपुरमा संक्रमितहरुको संख्यालाई न्युनीकरण गर्न निरन्तर विभिन्न कार्यक्रमहरु गर्दै आएको कार्यालय वरिष्ठ जनस्वास्थ्य प्रमुख अस्मिता ओझाले बताइन् ।

 

भक्तपुरमा भएका कार्यक्रमहरुमा क्षयरोग कुष्ठरोग तथा एच आइ भि एड्स सुदृढिकण कार्यक्रम, विश्व एड्स दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम, पीएमटीसीटी तालिम, न्यू डायमण्ड सोसाइटीको आयोजना तथा स्वास्थ्य कार्यालयको सहयोग तथा समन्वयमा मा डव्लूएल एचआईभी र योनिक अल्पसंख्यक समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्न मुख्य स्वास्थ्य सेवा प्रदायकहरुको लागि अभिमुखिकरण रहेको उनले सुनाइन् ।

 

तथ्यांक अनुसार नेपालमा सन् १९८८ मा पहिलो एच.आइ.भी. संक्रमित व्यक्ति पत्ता लागेको थियो । नेपालमा एचआईभी तथा यौन रोग रोकथाम र प्रतिक्रियाका लागि वि. स.२०४९ सालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र स्थापना भएको थियो । सन् २०२२ को अन्तसम्म नेपालमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ ।

 

बयस्क जनसंख्याको ०.११ प्रतिशत संक्रमण (प्रिभ्यालेन्स दर) छ । नेपालमा हरेक दिन १ जना मानिसमा एचआईभी संक्रमित हुन्छन् । सन् २०२२ मा ४८८ व्यक्तिहरुमा एचआईभीको नयां संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २००० को तुलनामा ९० प्रतिशतले घटेको छ ।

 

सन् २००० मा ५ हजार ८७ व्यक्तिहरुमा नयां संक्रमण अनुमान गरिएको थियो ।
विश्वमा हरेक दिन ३ हजार ६ सय मानिसहरु एचआईभी संक्रमित हुन्छन् । विश्वमा सन् १९८१ मा पहिलो एच. आई. भी. संक्रमित रिपोर्ट भएदेखि सन् २०२२ को अन्त्य सम्म ८ करोड ५६ लाख व्यक्तिहरु एचआइभीवाट संक्रमित भइ सकेका छन र त्यसैगरी ४ करोड ४ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भइसकेको छ ।

 

सन् २०२२ को अन्तसम्म ३ करोड ९० लाख एचआईभी संक्रमित व्यक्तिहरु भएको अनुमान छ । सन् २०२२ मा १३ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले घटेको छ । सन् १९९५ मा ३२ लाख नयाँ संक्रमण थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्