२० मिनेटलाई रोकिएको संसद चल्न सकेन, भोली ४ बजे बैठक बस्ने

काठमाडौं – प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि बस्दै नबसी भोलिका लागि सरेको छ ।

नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न सकेन । त्यसैले सभामुख घिमिरेले भोलि ४ बजेका लागि बैठक सारेका छन् ।

नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एक सुत्रीय अडान राखिरहेका छन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।

एमालेको अवरोधका कारण बैठक कार्य सूचीमा प्रवेश नै नगरी पौने १ बजे स्थगित भएको थियो । त्यसपछि पनि संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरेका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहमतिको प्रयास भइरहेको बताउँछन् । उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्यितयार दुरुपयोग अनुसन्धान आयोगमा छलफलमा रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलको नेतालाई लगाएको आरोप उचित नरहेको भनेर जाने प्रस्ताव समेत राखेका छन् ।

तथापि, प्रतिनिधिसभाको बैठक सुरु हुन सकेन र भोलि शनिबार ४ बजेका लागि सर्‍यो । बैठकमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तयारी थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्