आइपिएल : हैदरावादलाई ८ विकेटले पराजित गर्दै मुम्बई विजयी, प्लेअफ सम्भावना कायमै

काठमाडौँ – आइपिएल २०२३ मा मुम्बई इन्डियन्सले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै मुम्बईले प्लेअफ सम्भावना कायमै राखेको हो। हैदरावादले दिएको २०१ रनको लक्ष्य मुम्बईले २ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो। मुम्बईको जितमा क्यामरन ग्रिनले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट १०० रन जोडे। ग्रिनले ४७ बलमा ८ चौका र ८ छक्का हिर्काए। सूर्यकुमार यादवले नटआउट २५ रन जोडे। कप्तान रोहित शर्मा ५६ रन र इशान किसन १४ रन जोडेर आउट भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेटको क्षतिमा २०० रन जोड्‍यो। हैदरावादका लागि ओपनर विवरान्त शर्माले ४७ बलमा ६९ रन जोडे। अर्का ओपनर मयंक अग्रवालले ४६ बलमा ८३ रन जोडेपछि हैदरावादले बलियो स्कोर खडा गरेको थियो।

बलिङमा मुम्बईका आकाश मध्वालले ४ विकेट लिएका थिए। जितसँगै अंक तालिकाको चौथो स्थानमा उक्लिएको मुम्बईले लिग चरणको सबै खेल खेल्दा १६ अंक जोड्यो। १४ अंक जोडेर पाँचौ स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरको पनि प्लेअफ सम्भावना कायमै छ। रनरेट राम्रो रहेको बेंग्लोरले आज राति गुजरात टाइटन्सलाई हराए प्लेअफमा स्थान बनाउनेछ। बेंग्लोरको हारले मुम्बई प्लेअफ पुग्नेछ। बेंग्लोरको मैदानमा पानी जमेका कारण टसमा ढिलाइ भएको खेल हुन नसकेमा मुम्बई प्लेअफ पुग्नेछ।

यता मुम्बईको जितले राजस्थान रोयल्स भने प्लेअफ दौडबाट बाहिरिएको छ। आइपिएल २०२३ मा प्लेअफमा पुग्ने तीन टिमको टुंगो लागिसकेको छ। शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको चेन्नई सुपरकिंग्स र तेस्रो स्थानको लखनउ सुपर जायन्टले प्लेअफमा स्थान बनाएका छन्। शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर हुने पक्का भएको छ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। लखनउले एलिमिनेटर खेल्नेछ। एलिमिनेटरमा जित हात पारे दोस्रो क्वालिफायर खेल्नेछ। अब मुम्बई र बेंग्लोर मध्ये एक टिम एलिमिनेटरमा पुग्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्