दार्चुलामा समयमै एम्बुलेन्स र उपचार नपाउँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – समयमै उपचार र एम्बुलेन्स नपाउँदा दार्चुलामा एक जनाको ज्यान गएको छ । लेकम गाउँपालिकाका वडा नं. ६ का स्थानीय बासिन्दा धनसिंह खत्रीको समयमै अस्पताल नपुग्दा ज्यान गएको हो । गोकुलेश्वर बाट थप उपचारका लागि धनगढी लैजादै गर्दा बैतडीको बसाली भन्ने ठाउँमा शुक्रबार राति करिब ८ तिर खत्रीको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।

बिहिबार राति ११ बजे देखि पेटको दुखाईले ग्रसित भएका खत्रीलाई स्ट्रेचरमा बोकेर स्थानीयहरुले शुक्रबार दिउँसो साढे १ बजे तिर गोकुलेश्वर अस्पताल पु¥याएका थिए । गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि विरामीलाई तत्काल धनगढी लैजान अस्पातालका डाक्टरहरुले सुझाव दिएको विरामीका आफन्तले बताएका छन् । विरामीलाई धनगढी लैजान दिनभरी गाडीको व्यवस्था हुन सकेन ।

उनका आफन्तका अनुसार शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रमलाई सम्बोधन गर्न दार्चुला पुगेका कारण सबै गाडीहरु कार्यकर्ता ओसार्न जिल्ला सदरमुकाम खलंगा गएका थिए । गोकुलेश्वर बजारमा गाडीको अभाव थियो । निजी सवारीको समेत व्यवस्था नभएपछि विरामीका आफन्तले नजिकका पालिकाहरुमा एम्बुलेन्सको लागि गुहार गरे ।

लेकम गाउँपालिकामा एम्बुलेन्स थियो तर चालकले मन्दिरमा बत्ति बाल्नुपर्ने र जान नसक्ने जवाफ गाउँपालिकाका कर्मचारीहरुले दिए । यस्तै शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीले नगरको एम्बुलेन्स विग्रेको गैरजिम्मेवार जवाफ दिएका थिए । कहिले देखि विग्रेको भन्ने प्रश्नमा धामीले एक छिन पछि कल गर्छु भनेर फोन काटे तर धामीको फोन आएन विरामीको मृत्यु आइसक्यो ।

त्यस्तै नौगाड गाउँपालिकाका स्वास्थ्य संयोजक प्रितम ठगुन्नाले स्थानीय चुनाव अगाडी नै एम्बुलेन्स विग्रेको बताए । मार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चक्र सिंह धामीले एम्बुलेन्सको बारेमा चालकले भनेको कुरा नै अन्तिम कुरा हुने गैर जिम्मेवार जवाफ दिए । चालक भनिने व्यक्तिलाई फोन गर्दा उनले गाउँपालिकाको भाडा बाहेक आफुलाई छुट्टै भत्ता दिनु पर्ने बार्गेनिङ गरे । चालकले भने अनुसार भत्ता दिन नसकेपछि उनले धनगढी जान मानेनन् ।

यता छिमेकी गाउँपालिका बैतडीको डिलासैनीमा एम्बुलेन्सको विषयमा बुझ्दा करिब डेढ वर्ष देखि विग्रिएको गाउँपालिका उपाध्यक्षले बताएको उनका आफन्तले जनाएका छन् । ‘समयमा उपचार र एम्बुलेन्स नपाउँदा आफन्त गुमाउनुको पीडा हामीले महसुस गरेका छौ’ मृतकका आफन्तले भने, ‘नेताहरुका आफन्त र छोरा छोरी विरामी भए काठमाडौँबाट हेलिकप्टर आउछन्, काठमाडौँका सुविधा सम्पन्न ठुला अस्पतामा उपचार गराउँछन्, हामीले भोट मात्रै दिने हो, सुविधा पाउने हैन ।’ समयमा एम्बुलेन्स नपाउँदा आफन्त गुमाएको यो दोस्रो पटक हो भन्दै मृतकका आफन्तले आक्रोश पोखे ।

गत वर्ष कार्तिकमै एक जना भीरबाट लडेर गम्भीर घाइते भएका विरामीलाई धनगढी रिफर गर्न गोकुलेश्वर अस्पतालमा एम्बुलेन्स छैन भनेका थिए तर एम्बुलेन्स चालकले घरमा लगेर राखेको पछि खुलासा भएको थियो । ‘यस्ता घटनाहरु कहिले सम्म सहने, यत्रो भुगोल र जनसंख्या भएको ठाउँमा एम्बुलेन्स नै नहुनु र भएका ठाउँका चालकहरुले भत्ता माग्नु, जान नमान्नु, वाहाना बनाउनु कतिको जायज हो,’ मृतकाका आफन्तले आक्रोश पोखे, उनले अगाडी थपे, ‘स्थानीय सरकारको चरम लापरवाही र गैरजिम्मेवारीको पराकाष्ठ हामीले भोग्यौँ, आगामी दिनहरुमा एम्बुलेन्स र उपचारको अभावमा कसैले ज्यान गुमाउन नपरोस् ।’

यो पनि 

दार्चुलाको गोकुलेश्वरमा बिरामी छटपटिदैँ सकडमा, कतै एम्बुलेन्स बिग्रेका कतै चालक भत्ता खोज्दै

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्