दार्चुलाको विकट ठाउँ छाङरुमा नेपाल टेलिकमको फोर–जी सेवा सुरु

काठमाडौँ  – नेपाल टेलिकमले दार्चुलाको विकट ठाउँ छाङरुमा हिजो बुधवारदेखि फोर–जी सेवा सुरु गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकामा रहेकाे छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोर–जी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।

फोर–जी सेवाका लागि नेपाल टेलिकमले दार्चुलाको महाकाली नगरपालिकामा रहेकाे न्यु बालाशिखरकाे रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिङ्कमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलङ्गादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।

अब छाङरुमा रहेका झन्डै एक सय २० घरधुरी र सात सय जनसङ्ख्या तथा अन्य क्षेत्रका गरी झन्डै चार हजार जनसङ्ख्या यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा तिङ्कर लगायतका क्षेत्र र सीमानासम्म फोर–जीको पहुँच पुगेको छ । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको यस क्षेत्रमा ब्यान्ड २० अर्थात् आठ सय मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ । यो ठाउँमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालयसमेत रहेका छन् ।

विकट र दुर्गम ठाउँमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार नेपाल टेलिकमले देशका विभिन्न विकट ठाउँमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रूपमा छाङरुमा समेत सेवा उपलब्ध भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्