राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक आज संसदलाई जानकारी गराइँदै

File Photo

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराइँदै छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र जानकारी गराउने उल्लेख छ ।

साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आफूकहाँ आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै सोमबार प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । राष्ट्रपति कार्यालयको सोसम्बन्धी पत्र संघीय संसद सचिवालयमा पुगेको छ । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने गरिन्छ । राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने गरिन्छ । यसरी आएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पुनः आएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई संविधानले दिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्