फोहोरमाथि राजनीति नगरौं : सरुवा रोग बिष्फोट भए हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन – डा. पाण्डे

अहिले उपत्याकामा फोहोर थुप्रिएको छ | फोहोरको कारण गाडीको टायर र जुत्ता हुँदै हैजा, झाडावान्ता, टाइफाइड, हेपाटाइटिस, डेंगी आदिका किटाणु घरघरमा पुग्दैछन् | यस्ता सरुवा रोग बिष्फोट भएभने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन | हरेक देशको राजधानी त्यहाँको नगरपालिकाले मात्र हेर्दैन | राजधानीलाई बस्न योग्य, स्वस्थ्य र सभ्य बनाउन सबै प्रकारका सरकार र निकाय परिचालन भएका हुन्छन् | काठमाडौंको फोहोर भन्नाले कामनपा बाहेक अन्य धेरै पालिकाको फोहोर पनि हो |
.
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोरको समस्या समाधान गर्न धेरै प्रयत्न गरेको हामीलाई थाहा छ | एक्लै मेयर वा महानगरले फोहोरको ब्यबस्थापन गर्न सक्दैन | राजधानीको फोहोर संघीय सरकारले नै ब्यबस्थापन गर्नुपर्दछ | तीनवटा प्रमुख दल मिलेर फोहोर अबरुद्ध गर्ने बिज्ञप्ति निकाल्नु निकै लज्जाको बिषय हो | हाम्रा पार्टीहरुले भोटको राजनीति बाहेक केहि जानेका छैनन् वा जनताप्रति पटक्कै जिम्मेवार छैनन् भन्ने यो ताजा उदाहरण हो |
फोहोर ब्यबस्थापन रोक्ने दलीय खेलबिरुद्ध आम जनता एकबद्ध भएर सरकारलाई दवाव दिनु जरुरी छ | फोहोरमाथि भएको मासिक अर्बौंको खेल खेल्ने बिचौलियाको मुकुण्डो उतार्नु जरुरी छ | यदि सरकारले तत्काल फोहोरको ब्यबस्थापन गर्दैन भने काठमाडौं महानगरपालिकाले बिकल्प सोंच्नु पर्दछ |
१. उपत्याकका हरेक पालिकाले आफ्नो फोहोर आफै बिसर्जन गर्ने आआफ्ना डम्पिङ साइट बनाउनु पर्दछ |
२. हरेक वडाले आफ्नो वडाको फोहोर ब्यबस्थापन गर्नको लागि इन्सिनेटर लगायतका उपकरण खरिद गरेर संचालन गर्नुपर्दछ |
३. सबै पालिकाले दातृ संस्था वा सहयोगी संस्थासंग फोहोरको आधुनिक ब्यबस्थापन, मल उत्पादन र रिसाइकलको लागि सम्झौता गर्नुपर्दछ |
४. जनस्वास्थ्यमाथि फोहोरी राजनीति गर्ने दललाई जनताले आगामी चुनावमा जमानत जफत गरिदिनु पर्दछ |
५. कामनपाले बिभिन्न ठाउँमा पाइलट डम्पिङ एबम प्रशोधन साइट पहिचान गर्नुपर्दछ |
६. सधै कुनै न कुनै निहुँ पारेर फोहोर बिसर्जनमा अबरोध गर्ने सिसडोल र बन्चरे डांडासंग गरिएका सम्झौता रद्द गर्नुपर्दछ |
७. हामी आम नागरिकले महानगर र मेयरको सिमितता बुझेर फोहोरलाई ब्यबस्थापन नहुने बेलासम्म बाटोमा फाल्नु हुँदैन |
८. मेयर भनेको जननिर्वाचित व्यक्ति हो | चुनावमा हारेका वा आगामी चुनावमा हार्ने डर भएका नेताले स्वतन्त्र व्यक्तिले केहि गर्न सक्दैन भन्ने भाष्य स्थापित गर्नको लागि फोहोरी राजनीति गरेको तथ्य हामीले बुझ्नु पर्दछ | धरानका मेयर हर्क सांपांगलाई गरिरहेको असहयोग हामीले देखेका छौं | यो प्रवृतिलाई हामीले जसरी पनि रोक्नु पर्दछ |
हामीलाई राजनीति गर्नु छैन | राजधानीलाई सफा, स्वच्छ, पर्यटकमैत्री तथा सभ्य बनाउनको लागि काम गर्ने हरेक व्यक्ति, नेता वा संस्थालाई हामीले सम्मान गर्छौं | जनस्वास्थ्यमाथि खेलवाड गर्ने जोकोही हुन्, उनीहरुको बिरुद्ध ऐक्यबद्ध भयौं भने फोहोरी राजनीति सधैको लागि अस्ताउने छ | सहि कुरामा कसैको झोले र चम्चे हुनु भनेको आफ्नो स्वाभिमान बिक्रि गर्नु हो |

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्