मकवानपुरमा ८ हजार ६ सय नयाँ मतदाता

मकवानपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा आठ हजार ६ सय ४३ नयाँ मतदाता दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत मकवानपुरमा चार हजार पाँच सय १७ पुरुष तथा चार हजार एक सय २६ महिला गरी कूल आठ हजार छ सय ४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सो कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

गत साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन कार्य बन्द भएको बताइएको छ ।

मकवानपुरमा निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा गरी दुई स्थानमा बेग्लाबेग्लै मतदाता नामावली सङ्कलन भएको थियो । निर्वाचन कार्यालयमा तीन हजार चार सय ३२ पुरुष र तीन हजार ९८ महिला गरी कूल छ हजार पाँच सय २१ ले मतदाता नामावलीमा दर्ता गराएको थिए । जिल्ला प्रशासन कार्यालयमा नौ सय २१ महिला तथा नौ सय १९ पुरुष गरी एक हजार आठ सय ५० जनाले मतदाता नामावलीमा दर्ता गराएको बताइएको छ ।

सो अवधिमा एक हजार दुई सय ८७ जनाले मतदाता नामावलीमा नाम सच्याउने र मतदान केन्द्र परिवर्तन गरेको बताइएको छ । मतदाता परिचयपत्र त्रृटि सच्याउनेको सङ्ख्या एक सय थियो । बाहिरी जिल्लामा तीन सय ४३ जनाले मतदाता नामावली सारेको सो कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख लुम्वनाथ अधिकारीबाट प्राप्त विवरणअनुसार मकवानपुरमा हाल एक लाख ५६ हजार छ सय ४९ पुरुष तथा एक लाख ५० हजार एक सय ६२ महिला र पाँच अन्य गरी तीन लाख छ हजार आठ सय १६ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको जनाइएको छ । जिल्लामा मतदानस्थल एक सय ६५ तथा मतदान केन्द्र तीन सय ५६ रहेको सो कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्