महानगरमा एमाले शून्य

काठमाडौँ – स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७ सय ५३ पालिकामध्ये ७ सय ५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिकामा भने शून्य भएको छ।

२०७४ को निर्वाचनमा कांग्रेस–एमालेले समान २–२ महानगर जितेका थिए भने माओवादी र जसपाले समान १–१ मा जित हासिल गरेका थिए। अघिल्लो निर्वाचनमा महानगरमा जित हासिल गर्ने दलले यसपटकको निर्वाचनमा फेरि जितेर विरासत जोगाउँदै गर्दा एमालेले भने पहिले जितेका महानगर पनि गुमाएको छ।

६ महानगरमध्ये विराटनगर र ललितपुर महानगर नेपाली कांग्रेसले जोगायो। यसअघि पनि यी दुबै पालिकामा नेपाली कांग्रेस विजयी भएको थियो। यसअघि एमालेले जितेको पोखरामा यसपालि नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ। पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य निर्वाचित भएका हुन्। उनले एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै विजयी भए।

भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भइन्। उनले एमालेका विजय सुवेदीलाई १२ हजार बढी मतले हराइन्। वीगन्जमा जसपाका उम्मेदवार राजेशमान सिंहले फराकिलो मतान्तरले एमालेका विजय सरावगीलाई हराए। विराटनगरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् । उनले एमालेका सागर थापालाई ९ हजार बढी मतले हराए।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भए। यसअघि जितेको काठमाडौंमा एमाले यसपालि तेस्रो भयो। मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजार ७६७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्। बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाए। सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्।

ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन्। महर्जनले १२ हजार ९४३ मतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई हराए। व्यञ्जनकारले २९ हजार ९८६ मत प्राप्त गर्दा महर्जनले ४२ हजार ९ सय २९ मत प्राप्त गरे।

यता मेयरमा शून्य भएको नेकपा एमालेले उपमेयरमा भने ४ वटा महानगरमा जित निकालेको छ। एमालेले यसपालि काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको उपमेयर जितेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्