आजको मौसम : भारी वर्षा र चट्याङको सम्भावना

काठमाडौँ– गएको ३० गते भएको पालिका चुनावको अन्तिम मत परिणाम धमाधम आइरहेको छ । अहिलेसम्मको मत परिणाममा नेपाली कांग्रेस अग्रस्थानमा छ । एमाले र माओवादी केन्द्र दोस्रो र तेस्रो स्थानमा छन् ।

चुनावको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा विजयी हुनेहरुले बाजागाजा र र्यालीसहित उत्सव मनाइरहेका छन् । तर, मतदान गर्ने समयमा मौसमले केही हदसम्म साथ दिए पनि विजयोत्सवमा भने हावाहुरी र वर्षाले असर गर्न सक्ने भएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा बिहानै हावाहुरीसहित पानी परेको छ । बिहान सबेरै हावाहुरी र मेघगर्जनसहित वर्षा भएको हो । अहिले भने पानी पर्न रोकिएको छ ।

तर, दिउँसो पनि मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ भने केही ठाउँमा मध्यम खालको वर्षा समेत हुनसक्छ ।

यस्तै, चट्याङ्ग र हावाहुरी समेत पर्ने भएकाले घरबाहिर निस्कँदै गर्दा सावधानी अपनाउन उहाँको आग्रह छ । घर बाहिर निस्किँदा छाता, प्लास्टिक, वर्षादीलगायत ओत बोक्न पनि मौसमविद्को सुझाव छ ।

आज विशेषगरी प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव परेको छ । यस्तै, आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्