बालुवाटारमा देउवा, प्रचण्ड, नेपाल भेट: फागनु ४ गते प्रतिनिधि सभाको बैठक गर्न प्रस्ताव

काठमाडौँ – समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दीगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच छलफल भएको थियो । प्रमुख विपक्ष नेकपा(एमाले)का कारण प्रतिनिधि सभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो ।

छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन् ।

सत्तारूढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उनीहरूबीच मतैक्यता रहेको थियो। रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्