सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घट्दै

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घट्ने क्रममा रहेको छ । एक हप्ता अगाडि उच्च विन्दुमा पुगेको सङ्क्रमण दर केही दिनदेखि ओरालो लागेको देखिएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार यो प्रदेशमा माघ १० गते कोरोना सङ्क्रमण दर उच्च देखिएको थियो । त्यो दिन प्रदेशभरि एक हजार ५४७ जनाको परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भई सङ्क्रमण दर ३५.५५ प्रतिशत पुगेको थियो ।

यसैगरी, सङ्क्रमित हुनेको सङ्ख्या भने सबैभन्दा बढी माघ ११ गते थियो । सो दिन एक हजार ९७३ जनाको परीक्षण गर्दा ६५२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यद्यपि सङ्क्रमण दर भने ३३.३८ प्रतिशत थियो ।

यस्तै, माघ १२ गते सङ्क्रमण ३३.१७ प्रतिशत, १३ गते २९.१६ प्रतिशत, १४ गते २८.७ प्रतिशत र माघ १५ गते सङ्क्रमण दर २३ प्रतिशतमा झरेको छ । माघ १२ देखि १५ गतेसम्म क्रमशः ६१४, ५५८, ४८६ र २६९ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । ती दिनमा क्रमशः एक हजार ८५०, एक हजार ९१३, एक हजार ६९३ र एक हजार १६९ जनाको परीक्षण गरिएको थियो ।

प्रदेशको यो तथ्याङ्कले सङ्क्रमण दर विस्तारै ओरालो लागेको पुष्टि गरेको छ । कैलालीमा भने परीक्षण सङ्ख्या घटेको तर सङ्क्रमित दर पहिलेकोजस्तै रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्