७० करोड काण्डको अडियो बाँस्कोटाकै हो भन्‍ने प्रमाणित छैन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वतमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गे्निङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्‍ने प्रमाणित नभएको’ ओलीले दाबी गरेका हुन् ।

बिहीबार नेकपाले काठमाडौंमा आयोजना गरेको वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले भने, ’अनधिकृत मान्छेले ल्याएको टेप उचालियो । यसमा कुनै प्रमाण छैन ।’

स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको उल्लेख ओलीले गरेका थिए । नेकपाका अध्यक्षसमेत रहेका ओलीले भने, ’नाम जोडिएकाले उनले नैतिकताको आधारमा राजीनामा गरे । भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार भयो ।’

प्रधामन्त्री ओलीले अडियो प्रकरणमा बाँस्कोटाको दोष देखिए कारबाही पनि हुने र सजाय पनि भोग्‍नुपर्ने बताए ।

भ्रष्टाचारका कुनै पनि मुद्दामा आफ्नो विरुद्ध आरोप र मुद्दा नभएको तर पत्रिकाले अनावश्यक रूपमा छापेको ओलीको भनाइ थियो । उनले भने, ’आरोप छैन, मुद्दा छैन, उजुरी छ भन्ने अखबारमा देखेको थिए । मेरो पनि नाम छ रे उजुरी । काम नलाग्ने पत्रु उजुरी हो । शुशासनमा लागेको छ । अख्तियारले मुद्दा चलाएको चलायै छ ।’

प्रधामन्त्री ओलीले नेपालका कम्युनिस्ट पार्टी २०५४ मा विभाजन नभएको भए त्यति नै बेला दुई तिहाइ बहुमत आउने थियो भनेर दाबी गरे । उनले कम्युनिस्ट पार्टी बलियो भएकाले माघ १९ को ’शाही कू’ विरुद्धको आन्दोलन सफल भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्