रविन्द्रको सम्झनामा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा

काठमाण्डौ – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।

एक वर्षअघि ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरी मन्त्रालयले कार्य्विधि बनाउने काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले कार्य्विधि निर्माण प्रक्रियामा रहेकाले यस वर्षको पुरस्कार अधिकारीको जन्मदिन आउँदो वैशाख २२ गते वितरण गरिने र अर्को वर्षबाट भने स्मृति दिवसकै दिन वितरण गरिने जानकारी दिनुभयो ।

गएको वर्ष फागुन १५ गते आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनपछि काठमाण्डौ फर्कने क्रममा तत्कालीन मन्त्री अधिकारीसहित सात जना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मन्त्री अधिकारीसहित नेपाल सरकारका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्