कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि न्युयोर्कमा संकटकाल घोषणा

काठमाडौँ – अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नुभएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनुपरेको उनले स्पष्ट पारेका छन् । “पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भनेका छन् ।

कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनुपरेको उनको भनाइ छ । अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन् । शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।

दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरसको रुपमा ओमिक्रोन कोरोनाभाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्व सतर्कता स्वरुप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरूलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ । त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरूलाई समेत विदेशबाट आउने यात्रुहरूको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्