चितवनमा आजदेखि एमालेको महाधिवेशन, को–को सहभागी हुन्छन्?

काठमाडौँ – नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुने भएको छ ।

मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशन स्थल र चितवनका सडक झन्डा तथा प्रचार सामग्री राखेर सजाइएका छन् । उद्घाटनअघि तीन ठाउँबाट नेता÷कार्यकर्तासहित ¥याली निकाल्ने तयारी छ । एमालेले महाधिवेशनमा लाखौं नेता÷कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नका लागि एमालेले अरू पार्टीलाई पनि निम्तो दिएको छ । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) लाई एमालेले महाधिवेशनमा बोलाएको छैन । त्यसैले एमाले महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सर्वोच्च नेता झलनाथ खनाल देखिने छैनन् । नेपाल र खनाल दुबैले विगतमा एमाले नेतृत्व गरेका थिए ।

एमालेले देशभित्र र बाहिरका विभिन्न पार्टीहरूलाई महाधिवेशनका लागि बोलाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले भने एमाले महाधिवेशनमा भिडिओ सन्देश पठाउने भएको छ । भारत, बंगलादेश, श्रीलंकालगायत विभिन्न देशबाट भने विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै नेताहरू आउने कार्यक्रम रहेको एमालेले जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज एमाले महाधिवेशन सम्बोधन गर्न चितवन जाने भएका छन् । उनी हेलिकप्टरबाट चितवन जाने कार्यक्रम छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने भएका छन् । प्रचण्डको निर्वाचन क्षेत्र चितवन हो । चितवनमा एमालेले महाधिवेशन गरेकोमा प्रचण्ड असन्तुष्ट छन् । साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू भने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्न जाने भएका छन् । अध्यक्ष ठाकुर बिहीबार नै चितवन पुगिसकेका छन् । महाधिवेशनका लागि एमाले अध्यक्ष ओलीसहित एमालेका सबै नेताहरू चितवन पुगिसकेका छन् । आज महाधिवेशन उद्घाटन गर्ने र शनिबारदेखि सौराहमा बन्द सत्र तथा उम्मेदवारी मनोनयनलगायतका कामहरू हुनेछन् । महाधिवेशनका लागि एमालेले सौराहका होटल तथा लजहरू बुकिङ गरेको छ, महाधिवेशन प्रतिनिधिहरूलाई त्यही बसोबासको व्यवस्था मिलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्