टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई हरायो

काठमाडौँ – आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई ८ विकेटले हराएको हो।

भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो। नेपालको जितमा सीता रानामगरले १७ रन जोडिन्। उनले १३ बलमा २ चौका प्रहार गरिन्। कप्तान रूबिना क्षेत्री १० रनमा रनआउट भइन्।

इन्दू बर्माले नटआउट २६ रन जोडिन्। उनले २६ बल नै खेल्दा २ चौका हिर्काइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन जोड्यो। भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन खर्चिइन्। करुणा भण्डारीले १ विकेट हात पार्दा भुटानका दुई ब्याटर रनआउट भए। अब नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ।

छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपाल, भुटान र हङकङले २-२ अंक जोडेका छन्। यसअघि नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो।

छनोटमा नेपालसहित घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ। छनोटअघि नेपालले कतारसँग ३ खेलको टी-२० सिरिज खेलेको थियो। सिरिज नेपालले क्लिनस्विप गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्