काँग्रेस महाधिवेशन : तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

काठमाडौं – नेपाली काँग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशन भइरहेको काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । राष्ट्रिय राजनीतिमा परिचित नेता काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नारायणप्रकाश साउदको गृहजिल्लामा नेता कार्यकर्ता चुनावी समूह बनाएर विभिन्न पदमा प्रतिस्पर्धा गरिरहेका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा काँग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच सभापति पदमा प्रतिस्पर्धा हुँदैछ । उक्त निर्वाचन क्षेत्रमा संविधानसभा सदस्य दीवान विष्टको राम्रो पकड मानिन्छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भिडन्त हुँदैछ । उक्त क्षेत्र काँग्रेस नेता तथा पूर्वमन्त्री साउदको पकड राम्रो रहेको क्षेत्रका रुपमा लिइन्छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द र गणेशसिंह नेगीबीच सभापतिका लागि निर्वाचन हुँदैछ । नेता रमेश लेखकको पकड क्षेत्र मानिएको उक्त क्षेत्रमा यसअघिका निर्वाचनमा लेखक निकट नेता चुनावी प्रतिस्पर्धामा प्यानलसहित विजयी भइसकेका छन् । तीनवटै निर्वाचन क्षेत्रमा काँग्रेस नेता तथा कार्यकर्ताले चुनावी प्रचारप्रसारलाई बिहानैबाट तीव्रता दिएका छन् ।

काँग्रेसमा निर्वाचनको रौनक

बागलुङ : मतदानमार्फत आइतबार प्रदेश निर्वाचन क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाएको नेपाली काँग्रेस बागलुङ आजदेखि सङ्घीय क्षेत्रको अधिवेशनमा होमिएको छ ।

बागलुङ–१ को सदरमुकाम र २ को पश्चिम बुर्तिबाङ बजारमा अधिवेशन हुँदैछ । अधिवेशनले क्षेत्रीय समितिका पदाधिकारीसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ । उद्घाटन सत्रपछि आजै साँझदेखि निर्वाचन प्रक्रिया आरम्भ हुने जनाइएको छ ।

आसन्न १४औँ महाधिवेशनका लागि प्रतिनिधि चुन्ने थलो भएकाले पनि क्षेत्रीय अधिवेशनलाई काँग्रेसजनले महत्वका साथ लिएका छन् । मन्त्रीदेखि केन्द्रीय तहका नेतासम्म अधिवेशनका लागि भूगोलमा केन्द्रित भएका छन् ।
सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनबाट २६ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने नेपाली काँग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो । “क्षेत्रीय सभापतिसहित २६ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चुनिन्छन्”, उहाँले भन्नुभयो, “क्षेत्रीय कार्यसमिति पनि यही अधिवेशनले तय गर्छ ।”

कार्यसमितिमा सभापतिसहित, दुई सचिव, दुई सहसचिव र बाँकी सदस्य निर्वाचित हुनेछन् । निर्वाचनको सम्मुखमा पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारका आकाङ्क्षी सक्रिय देखिन्छन् । कायकर्ता भेटघाट र प्रचारप्रसारलाई तीव्र पारिएको छ ।

उम्मेदवार प्यानल नै बनाएर निर्वाचनमा भिड्ने तयारीमा छन् । बागलुङ–१ को सभापतिमा चण्डीप्रसाद शर्मा पौडेल र खड्कबहादुर थापाले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । बागलुङ–२ को सभापतिका लागि तीन नेता आकाङ्क्षी देखिएका छन् ।

नरजङ्ग घर्तीमगर, जोकलाल बुढामगर र गगन पुनमगरले सभापति पदमा आफ्नो दाबी अघि सार्नुभएको छ । सचिव पदमा हिमबहादुर भण्डारी र धर्म घर्तीको नाम चर्चामा छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीको सङ्ख्या झन ठूलो छ ।

निर्वाचित हुने सङ्ख्याभन्दा दोब्बर बढीले आफ्नो उम्मेदवारी रहने बताइरहेका छन् । बागलुङ–१ को हकमा पनि स्थिति उही छ । मनोनयन दर्ताका क्रममा त्यो सङ्ख्या अझ बढ्ने अनुमान छ । सकभर सबै पदमा सर्वसम्मतिको प्रयास हुने र सहमति नहुने स्थितिमा मतदानबाट टुङ्गो लगाइने काँग्रेसले जनाएको छ ।

क्षेत्रीय निर्वाचनलगत्तै यही मङ्सिर १० गते जिल्ला अधिवेशन तोकिएको छ । जिल्ला सभापतिका लागि अहिलेसम्म जगदीशचन्द्र उपाध्यायले मात्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँ अघिल्लो अधिवेशनमा अहिलेका सभापति दीपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो ।

विधानको व्यवस्थाअनुसार महाधिवेशन प्रतिनिधि नबनी जिल्ला सभापतिको उम्मेदवार बन्न नपाइने भएकाले महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि सभापतिका आकाङ्क्षी थपिने देखिन्छ । जिल्ला अधिवेशन पनि लगत्तै हुने भएकाले काँग्रेसमा निर्वाचनको सरगर्मी थप बढेको छ ।

आइतबार मात्रै काँग्रेसले जिल्लाका चार प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनबाट बागलुङ–१ (क) को सभापतिमा हरिबहादुर जिसी, (ख) मा दलबहादुर श्रीस राना, बागलुङ–२ (क) मा तिलक घर्तीमगर र (ख) मा मेषलाल शर्मा विजयी हुनुभएको थियो ।

तीन क्षेत्रमा मतदानबाट नेतृत्वको छिनोफानो भए पनि २ को (क) मा सर्वसम्मतरुपमा पदाधिकारी चयन गरिएको थियो । प्रदेश महाधिवेशन प्रतिनिधिका लागि भने त्यहाँ पनि मतदान भएको थियो । काँग्रेसले गत कात्तिकमै वडा र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसकेको छ । अब जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशनतिर काँग्रेस केन्द्रित भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्