छ अर्ब साठी करोडभन्दा बढी पुनर्कर्जा स्वीकृत

काठमाडौं – चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म छ अर्ब ६० करोड रुपियाँभन्दा बढी पुनर्कर्जा स्वीकृत भएको छ । कुल २१ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ५५ जना ऋणीको पुनर्कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । कोभिड–१९ बाट प्रभावित उद्योगी–व्यवसायीका लागि व्यवस्था गरिएको पुनर्कर्जाअन्तर्गत विशेष पुनर्कर्जा शीर्षकमा ११ जना ऋणीले एक अर्ब ८६ करोड २३ लाख लिएका छन् । त्यस्तै साधारण पुनर्कर्जा शीर्षकमा ४४ जना ऋणीले चार अर्ब ९३ करोड ९० लाख रुपियाँ लिएका छन् ।

प्रवाह भएको कर्जामध्ये करिब ५१ प्रतिशत कर्जा पर्यटन क्षेत्रमा प्रवाह भएको छ । पर्यटन क्षेत्रमा तीन अर्ब ४६ करोड ३८ लाख रुपियाँ कर्जा प्रवाह भएको राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै जलविद्युत् क्षेत्रमा एक अर्ब ६० करोड ७६ लाख रुपियाँ, उत्पादनमूलक क्षेत्रमा ८० करोड ८० लाख, अस्पताल क्षेत्रमा ४८ करोड ७० लाख रुपियाँ कर्जा प्रवाह भएको छ ।

शिक्षा क्षेत्रमा साढे २४ करोड, यातायात क्षेत्रमा १३ करोड ५२ लाख र कपडा उद्योगमा पाँच करोड ४७ लाख रुपियाँ प्रवाह भएको छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी पुनर्कर्जा बागमती प्रदेशमा प्रवाह भएको छ । यस प्रदेशमा तीन अर्ब ४५ करोड ३६ लाख रुपियाँ कर्जा प्रवाह भएको छ । त्यस्तै गण्डकी प्रदेशमा एक अर्ब ८९ करोड ३६ लाख, लुम्बिनी प्रदेशमा ८८ लाख ५५ हजार, प्रदेश १ मा ३६ करोड ४२ लाख र प्रदेश २ मा २० करोड ४४ लाख रुपियाँ कर्जा प्रवाह भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्