एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

FILE PHOTO

काठमाडौं – एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो।

बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो। भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएको थियो। सरकारले उपलब्ध गराएको जग्गामा २०६७ सालमै तत्कालीन प्रधानमन्त्री खनालले भवन निर्माणका लागि शिलान्यास गरेका थिए।

भवनको निर्माण काम पूरा भएपछि २०७३ कात्तिकमा माधव नेपालले​ भवनको उद्घाटन गरेका थिए। संगठन विभाजित भएपछि संगठनको कार्यालयलाई दुवै पक्षले आफ्नो भएको दाबी गर्दै अर्को पक्षले गुण्डागर्दी शैलीमा भवन कब्जा गर्न खोजेको आरोप लगाएका छन्।

भवनमा ताला लगाएपछि एमाले निकट कर्मचारीहरूले आइतबार प्रधानमन्त्री तथा मुख्यसचिवलाई ज्ञापन पत्र बुझाई भवनमा लगाइएको ताला खुलाउन माग गरेका छन्। कर्मचारी संगठनका ७७ वटै जिल्ला समितिहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाई तत्काल भवनमा लगाइएको ताला तत्काल खुलाउन माग गरेका छन्। यसैगरी केन्द्रीय नेताहरूले आइतबार मुख्यसचिवलाई ज्ञापन पत्र बुझाई कार्यालय भवनमा लगाइएको ताला खुलाउन आग्रह गरेका छन्।

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका सहसंयोजक लेखनाथ कोइरालाले माधव नेपाल निकट कर्मचारीहरूले सत्ताको आडमा कार्यालय भवन कब्जा गर्न खोजेको आरोप लगाए। तर माधव नेपाल निकट कर्मचारी नेता रेवन्त गौतमले भने संगठनको कार्यालय भवन आफ्नो भएको दाबी गरे। यो समाचार नागरिक दैनिकमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्