इजरायल जान ६ हजारभन्दा बढी युवाले दिए भाषा परीक्षा

काठमाडौं – सरकारले सोमबार इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा लिएको छ । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको हो ।

परीक्षा सञ्चालनमा शान्तिपूर्ण तवरमा भएको विभागका सूचना अधिकारी तथा प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए । कम्तिमा १६८० जनाले अन्तर्वार्ता दिनेगरी भाषा परीक्षाको नतिजा प्रकाशन हुनेछ ।

त्यसपछि अन्तरवार्ता लिने र त्यसपछि इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ । सो सूची इजरायल सरकारलाई पठाइनेछ । इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् ।

त्यसरी जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ ।

शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ ।

सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७८’ जारी गरिसकेको छ । यसअनुसार रोजगारीमा जाने व्यक्ति कम्तिमा १.५ मिटर उचाई र ४५ केजी तौल भएको हुनुपर्ने व्यवस्था छ ।

भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था निर्देशिकामा छ । इजरायलले पाँच सय नेपाली श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्