CORONA

बुवा अनि कुशे औँसी

हुनतः चाँडबाड कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरुले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवीदेवताहरूको पूजाआजा गरी भोजभतेर खाएर नाँचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ ।

हरेकवर्ष कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन आउँछ।विभिन्न धर्म संस्कृति मान्दै आइरहेको हाम्रो देशमा दिनहुँजसो कुनै न कुनै चाँडपर्व परिनै रहन्छन्। चाँडपर्वलाई सामाजिक, धार्मिक, साँस्कृतिक र मानवजीवन रक्षाका दृष्टिले हेर्ने गरिन्छ। चाडपर्वले पारिवारिक वा सामाजिक सम्बन्धलाई मजबुत पार्ने तथा नजिक राख्ने पुलकाे रुपमा काम गर्छ।यस्तै जीवनरुपी उकाली-ओराली बिसाउने चौतारी हुन्छ चाडपर्व। मानसिक स्वास्थ्यका लागि चाडपर्वले ‌‍‌उर्जाकाे काम गरिरहेको हुन्छ ।चाँडपर्वको मनोवैज्ञानिक प्रभाव बुझेर यसलाई धर्मको रुपमा नहेरी चाँडकाेरूपमा मात्र स्वीकार गर्ने र मनाउने हो भने धेरै उचित हुन्छ।

वैदिक सनातन हिन्दू संस्कारमा एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको कुश पवित्र वनस्पति हो ।जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ ।एउटा धार्मिक आस्था बोकेको  नेपालको तराईदेखि पहाडसम्म सजिलै पाइने बनस्पती कुश को जराबाट विभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ ।आजको औंशीकाे रात अर्थात चन्द्रमा अध्यारो हुने रात ।आजको दिन मा कुशलाई घरमा ल्याईन्छ। कुशको महिमा श्रीमद्भागवद् गीता अर्थात विभिन्न पुराणमाहरुमा समेत वर्णन गरिएको छ ।आधुनिकताको खोल ओडेर सनातन संस्कार उपर खिसीटिउरी गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यवहारिक पक्षलाई आत्मसात गर्न थालेका छन्। यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवन शैली प्रस्तुत गरेको छ। वैज्ञानिक रूपमै सिद्ध धर्मले सामान्य जीवनको समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्दछ ।

कुशेऔँसी लाई बुवाकाे “मुख हेर्ने” पनि भनिन्छ ।आमाको मुख हेर्नेदिनमा आमाको सम्झना गरियो भने आजको दिन पिताको  सम्मानमा सम्झनामा पनि विशेष समर्पणका साथ मनाउने गरिन्छ।मेराे आफ्नै प्रसंग जाेडाैं, बुवाले हाम्राे साथ छाेडेर गएकाे आज करिव सात वर्ष वितेछ। म ५ वर्षकाे थिए बुवा बित्दा।बुवाका धेरै कुराहरु अझैं पनि दिमागमा तराेताज छन्। खेलाैना, नयाँलुगा, मिठाखानेकुरा किनेर ल्याईदेकाे।बुवाको चोर औँला समाएर सँगै बजार गएको सम्झना आँखामा झलझली आइरहन्छ ।

अब ति दिनहरु मिठा सम्झानामा मात्र सिमत छन्।बुवाका आदर्श कुरा कामहरु आमाले सुनाई रहनुहुन्छ।हामी प्रायजसाे कुरा गरिराख्छाै बुवाकाे बिषयमा।म बुवाकाे मार्गनिर्देशन पालन गरिरहेकाे छु।म मेराे बुवाकाे बर्णन शव्दले गर्नै सक्दिन।याे अपुरणीय क्षति हाे मेरा लागि।अहिले आमाको माया र साथमा भविष्य खोज्दै अगाडि बढ्दैछु। हुन त पलपलमा बुवाको अभाव खट्किन्छ । मेरो बुबा बितेपछिका समय र उब्जिएको परिस्थितिले साह्रै असहज बनाएको छ।

बुवाकाे बुढेसकालको बलियो लाठी त बन्न पाईन तर आमाको लागि बन्न सकाैं भन्ने चाहान लिएकाे छु। आमा बुवा नै मेरा सधैं पुजनिय भगवान हुन्।आजकाे दिन सम्पूर्ण पितालाई समर्पितगर्दै कोटि कोटि नमन गर्दछु र याे संझनारुपी लेख तयार गर्दै छु। हरेक धर्ममा आ-आफ्नै चलन छन् तर चलन जेसुकै भएपनि बुबा प्रति को आदर सत्कार हामीले कहिलै भुल्न हुन्न।आजभाेली हामी बढ्दो आधुनिकतासँगै बुवाआमाहरुलाई वृद्धाश्रम राख्ने गर्दछौं। समय र स्रोतका अभाव देखाएर हेला गर्ने अनि झर्कोफर्को गर्ने गर्छाैं।आज बिदेशीकाे सिकाे सिकेर यस्ता चलन बढिरहेका छन्। तर बुवाआमालाई यसरी हेला गर्ने सन्तानलाई कहिले सुख शान्ति हुदैन।संसारमा ल्याउने आमाबुवालाई नमन् गर्दछु !!

अनेक प्रकारका दुख सहेर लालनपालन गरी सबै इच्छा पूरा गर्ने बुबा अनि म सोच्छु मेरो जीवनको अभिन्न अङ्ग म बाट चुडिएर कँहा जानुभएकाे हाेला? सबैका बुवा छन् मेराे मात्र नहुँदा अत्तालिन्छ मन।कोही कोही मानिसहरुले “याे अभागी रहेछ बुवाकाे माया पाउन सकेन” भन्दा मन साह्रै दुखेर आउँछ।बिधाताको खेला टार्न सकिएन । सबैका बुबासँग सबैको उस्तै स्मृति होलान् मेरो कुनै नौलो पनि नहोला मेरा लागि बुवा मेरो प्रेरणा हुनुहुन्थ्यो जीवन हुनुहुन्थ्यो र मेरो सर्वश्व हुनुहुन्थ्यो।संसारका सबै बुवहरु प्रति मेरो कोटि कोटि नमन!!

 

अधिराज कार्की, काठमाडाैँ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्