यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौँ – सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या बारे अध्ययन गरि प्रतिवेदन बुझाउने बैठक पछि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्य जाँचबुझ समिति गठन गरेको छ । समितिमा प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य रहेका छन् । सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत बृद्धि गरेको ३३ प्रतिशतको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

बैठकले मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा मोरङका डा.विक्रान्त ढकाल र युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ । यस्तै निर्वाचन आयोगमा कार्यरत सहसचिव राजकुमार श्रेष्ठलाई सचिव पदमा बढुवा गरेको छ । सरकारले दीगो तथा सम्मानित रोजगारीको लागि सञ्चालित सीप परियोजनाको लागि स्वीस सरकारको अनुदान सहायता करिब १ अर्ब ९३ करोड रुपैया स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले माओवादी जनयुद्ध, २०६२/६३ को आन्दोलन, मधेश आन्दोलनका घाइते अपांगको पुनःस्थापना हेरचाह, सहायतासम्बन्धी निर्देशिकाको दोश्रो संसोधन २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पाकिस्तानको माउन्ट के-२ को सफल आरोहण गर्ने दावा तेन्जिङ शेर्पाको टोलीलाई प्रोत्साहन स्वरुप जनही १ लाख नगद पुरस्कार दिने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्