जयसिंह धामी प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायो, एसएसबीको उपस्थितिमा घटना

काठमाडौं – छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानवि समितिले एसएसबीको संलग्नतामा पुन अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् ।

पोखरेलले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ’

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।

सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्