‘केयरगिभर’ मा इजरायल जानेको परीक्षा भदौ अन्तिम साता

काठमाडौँ – ‘केयरगिभर’का लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ ।

रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा भौतिक उपस्थितिमा हुने उनले बताए ।

केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश–पत्र तथा विभागको वेवसाइट https://dofe.gov.np मार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ । प्रवेश–पत्र अनलाइनमार्फत् उपलब्ध हुनेछ ।

भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ । भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ ।

सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ । सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए) लाई पठाई सोको विवरण विभागको वेवसाइटमा प्रकाशन गर्नेछ । विभागले पठाएको सूचीबाट इजरायलको पिआइबीएले छनोट गर्नेछ ।

पिआईबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् । विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्