एमालेमा अध्यक्ष मात्र निर्वाचित गर्ने प्रस्ताव, अन्य पदाधिकारीको चयन भने पार्टी केन्द्रीय कमिटीले गर्ने

काठमाण्डौ – नेकपा एमालेमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । आज च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अघि सारेको छ ।

बैैठकले महाधिवेशनबाट अध्यक्षमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयारी पारेर पार्टीको तल्लो निकायसम्म छलफलका लागि पठाउने निर्णय गरेको हो ।

प्रस्तावित विधानमा अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सात जना रहने व्यवस्था गरिएको छ । अध्यक्षबाहेकका अन्य पदाधिकारीको चयन भने पार्टी केन्द्रीय कमिटीले गर्ने प्रस्ताव पनि संशोधनका लागि तयार पारिएको विधानमा उल्लेख गरिएको छ ।

एक महिना पार्टीको तल्लो कमिटीले छलफल गरेपछि त्यो प्रस्तावित विधान आउँदो भदौ २७ र २८ गते हुने एमालेको विधान महाधिवेशनले पारित गर्नेछ । प्रस्तावित विधान मस्यौदामा महाधिवेशन प्रतिनिधि परिषद्को व्यवस्था गरिएको छ भने केन्द्रीय कमिटी, पोलिटब्युरो र सचिवालय मात्रै रहने व्यवस्था पनि गरिएको छ । स्थायी कमिटी भने विधानबाट हटाउने प्रस्ताव गरिएको छ ।

महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राजनीतिक प्रस्ताव मस्यौदा समिति, महासचिव ईश्वर पोखरेल नेतृत्वको सङ्गठनात्मक प्रस्ताव मस्यौदा समिति, सङ्गठन विभाग प्रमुख विष्णु पौडेल नेतृत्वको विधान संशोधन मस्यौदा समिति र नेता रामबहादुर थापा नेतृत्वको महाधिवेशन व्यवस्था समिति बनाउने स्थायी कमिटीको निर्णयलाई पनि अनुमोदन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्