लागुऔषधको अखडा बन्दै कञ्चनपुर, पाँच दिनमै लागुऔषधसहित १२ पक्राउ

सा‍ंकेतिक तस्वीर

कञ्चनपुर – जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । पाँच दिनको अवधिमै प्रहरीले १२ जनालाई प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश १८ वर्षदेखि २७ वर्षसम्मका व्यक्ति छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार शनिबार दोधारा चाँदनी र पुर्नवास नगरपालिकाबाट गरी पाँच तथा आइतबार बेलडाँडी गाउँपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको छ । सोमबार शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार भीमदत्त नगरपालिका–४ सुन्दरटोलस्थित बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलडाँडी–९ रतनपुर खजुवाका १९ वर्षीय गोपाल ठगुन्नालाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । दुवै जनाको साथबाट प्रहरीले १४ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको छ । गत वैशाखदेखि यही जेठ २६ गतेसम्म मात्रै प्रहरीले लागुऔषध सहित ४८ जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । वैशाखदेखि हालसम्म लागुऔषधका ३० मुद्दा दर्ता भएका छन् ।

रासस​

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्