टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने प्रचण्डको भनाइ

file photo
File Photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताउनुभएको छ ।

काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चौधरी फरार रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै तथा पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको स्मरण गराउनुभयो ।

उहाँले अघि भन्नुभयो, ‘सभामुख, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई सपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिलाउनुपर्छ भनेर भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनुहोला ।’

अहिले पनि सरकारसँग र पार्टीमा टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको उहाँले बताउनुभयो । प्रचण्डले अघि भन्नुभयो, ‘केही साथीहरु छुटेका छन् । रेशमलागायका साथीहरु छुट्न बाँकी छ । छुटाइन्छ, हेर्नुहोला केही समयभित्र परिणम निस्किन्छ ।’

थारु मात्र नभइ अरुको पनि झुटा मुद्दा खारेज गर्नुपर्ने उहाँले बताउनुभयो । माओवादी आन्दोलनमा लागेका, आफूसँगै भएका थुप्रै मानिस अहिले पजि जेलमा रहेको भन्दै उहाँले भन्नुभयो, ‘हिजो जनयुद्धमा संलग्न पहाडिया बाहुन क्षेत्री नै जेलमा छन् । हिजो सेनाबाट आएर जनयुद्धमा आएकालाई पनि जेल हालिएको छ । उनीहरुलाई पनि छुटाउन मेरो आन्दोलन जारी छ ।’

नेकपा अध्यक्ष प्रचण्डले आफूले पहिचानको आन्दोलन नछाडेको दाबीसमेत गर्नुभयो । आन्दोलन भनेको अहिलेसम्म कसैले नचढेको पहाड चढेको जस्तै भएको भन्दै उहाँले भन्नुभयो, ‘कोही नपुगेको उचाइमा पुग्न सिधै नाक अगाडि जान सकिँदैन । दायाँबायाँ गर्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्