पाँचौं राष्ट्रिय महमेला २०८१ आयोजना हुने

काठमाडाैं – नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ अन्र्तर्गत पाँचौं राष्ट्रिय महमेला २०८१ पनि आयोजना हुने भएको छ । बुधबारदेखि राजधानीको भृकुटीमण्डप परिसरमा “पाँचौं राष्ट्रिय महमेला २०८१” आयोजना हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नेपाल माैरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेको अध्यक्षता रहेको थियो भने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिँहको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी कार्यक्रममा नेपाल माैरीपालक कन्द्रीय सहकारी महासंघका अध्यक्ष जानुका देवी थापा लगायतको उपस्थिति रहेको थियो ।

मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने यस प्रदर्शनीको मुख्य नारा “खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” भन्ने रहेको छ ।
नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास निर्देशनालयको संयुक्त आयोजनामा विविध अर्गानिक महका छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको छ ।
स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको हो ।

मेलामा उत्पादक बिक्रेता र उपभोक्ताहरुलाई एउटै छानामुनी भेट्न सकिने छ । यसले गर्दा उत्पादकहरुले विक्रेता र उभोक्तासँग एकैपटक अन्तरक्रिया गर्न सक्नुका साथै उपभोक्ताहरुले उत्पादक किसानलाई सहजै भेट्न सक्नेछन् । गुणस्तरीय नेपाली महको बारेमा जानकारी लिन र दिनका लागि पनि मेला महत्वपूर्ण रहने अपेक्षा  गरिएको छ ।
मेलामार्फत उपभोक्ताले महको किसिमहरु बारे पनि थाहा पाउनेछन् भने बिक्रेलाहरुले उपभोक्ताहरुको चाहना र उत्पादक किसानको महका विशेषता पनि थाहा पाउन सक्नेछन् ।

मेलामा मह काढ्ने तरिका, मह सम्बन्धि सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुनेछन् । यस्तै सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुतिका साथै महका पारखी उपभोक्ताहरूलाई विभिन्न स्रोतको महको परिचय परिकार महोत्सव मेलाको आकर्षणको रुपमा रहनेछन् ।
भीर मौरी, कठौरी मौरी लगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र मह सम्बन्धी विभिन्न अनुसन्धानको निष्कर्ष तथा सूचनामूलक जानकारी प्रस्तुती पनि रहने छन् ।

यसअघि महासंघले चितवनमा दुई पटक मह मेलाको आयोजना गरेको थियो भने मह व्यवसायी संघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघको आयोजनामा काठमाडौँमा एक पटक मह मेलाको आयोजना गरिएको थियो ।
नेपाली किसानले उत्पादन गरेको मह किसानको घर घरमा रहनु बजारमा खपत हुने एक हजार मेट्रिक टन मह बाहिरबाट आपूर्ति हुँदा नेपाली अर्थतन्त्रमा समेत ह्रास आउने उत्पादकहरूले बताउँदै आएका छन् । पाँच दिनसम्म चल्ने उक्त मह मेलाले स्वदेशी महको खपत बढाउने विश्वास गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लि. रहेका छन् । यस्तै प्रवर्द्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगपालिका रहेका छन् । यस मेलाको अफिसियल बैंक कृषि विकास बैंक रहेको छ भने राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड शोजले गरेको छ ।

विज्ञप्तीमा भनिएको छ,  नेपालमा व्यावसायिक मह उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना छ । सरकारले सुविधा र सहुलियतको घोषणा पनि गरेको छ । तर, सरकारले पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र नै अल्मलिएको छ । सुविधाको बारेमा किसानहरु बन्चित हुन बाध्य छन् ।
आयातीत महको भन्सारलाई बढाएर स्वदेशी महलाई प्राथमिकता दिनुपर्यो । भारतबाट सिरप मह ल्याएर मह भनेर बिक्री गर्न पाइदैन । जुन प्रयोजनको हो त्यही भन्नुपर्यो ।
मौरी नीति स्पष्ट भएर कार्यान्वयनमा आउनुपयो । महको गुणस्तर नाप्ने ल्याब टेष्ट गर्ने मेसिन सबै प्रदेशमा व्यवस्था गर्नुपयो । जमेको मह नक्कली होइन भन्ने विश्वासको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता छ । महको बजारीकरणको लागि सरकारले उपयुक्त कार्यक्रम ल्याउनुपर्यो ।
मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापकरुपमा सर्बसाधरणसम्म सूचना प्रवाह गर्नुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै आयोजना गर्न लागेका छौं ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्