पहिलो चरणमा चार लाखले कोरोना भाइरसविरूद्धको खोप लगाए, ९ जना ज्वरो आएपछि स्वस्थ

काठमाडौँ – नेपालमा पहिलो चरणमा चार लाखले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । खोप लगाएका चार लाखमध्ये कसैलाई पनि स्वस्थमा गम्भीर समस्या नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौंमा मन्त्रालयले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीले भने, ‘अहिलेसम्म चार लाख बढीले खोप लगाइसके । त्यसमध्ये ९ जनालाई अलि बढी ज्वरो आयो । तर अहिले सबै सञ्चो भइसक्नु भएको छ ।’

त्यसबाहेक कसैलाई गम्भीर असर नदेखिएको पनि उनले बताए । पहिलो चरणमा स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख बढीलाई खोप दिने सरकारले लक्ष राखेको थियो ।

फागुन २३ गते देखि दोस्रो चरणको खोप कार्यक्रम अघि बढने पनि उनले जानकारी दिए । दोस्रो चरणमा ५५ वर्ष माथिका जेष्ठ नागरिक र दीर्घ रोग लागेका ४५–५४ वर्ष समूहका मानिसलाई खोप लगाउने सरकारले तयारी गरेको छ । यो समूहमा ५१ लाख बढी जनसंख्या रहेको मन्त्रालयले अनुमान गरेको छ ।

५१ लाख मानिसलाई दुई डोज खोप दिन खेर जान सक्ने खोपसमेत हिसाब गर्दा सवा करोड खोप चाहिने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको छ ।

दोस्रो चरणको खोप पूरा हुँदा नेपालको कुल जनसंख्याको २० प्रतिशतले खोप पाइसक्ने जानकारी स्वास्थ्य सचिव लक्ष्मण अर्यालले दिए ।

१५ वर्षमाथिका मानिसलाई मात्र खोप लगाउने तयारी सरकारको छ । त्यो उमेर समूहभन्दा तल खोपको परीक्षण भएको छैन । जम्मा २ करोड १७ लाख मानिसलाई खोप लगाउने मन्त्रालयको लक्ष्य छ ।

 

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्