बिहीबारदेखि देशभर मौसम सफा हुने

FILE Photo

काठमाडौँ, फागुन ५ गते । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो ।

आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार याे प्रणाली सक्रिय नभएकाले ठूलो हुन सकेन । वर्षा हुनका लागि पश्चिमी वायुसँगै पर्याप्त मात्रमा जलवाष्युक्त बहनुपर्छ ।

हाल देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा  छ । दिउँसो प्रदेश नं १, कार्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री र अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –२.७ डिग्री सेल्सियस छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्