आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै, यी कम्पनी छन् पाइपलाइनमा

काठमाडौँ – अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।

हालै खुलेको चन्द्रागिरि हिल्सको आवेदनले पनि यसलाई पुष्टि गर्छ । यो कम्पनीमा आवेदन दिनेको संख्या १२ लाख ५० हजार नाघेको छ । जुन संख्या अहिलेसम्मकै ठूलो हो । अर्कोतर्फ डिम्याट खाता खोल्नेहरू पनि बढिरहेका छन् । मंसिर १७ गतेसम्म २२ लाखले खाता खोलेकामा अहिले २४ लाख ८७ हजार पुगेका छन् ।

माघ २ गतेदेखि इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक (सेयर) को आइपिओ खुल्दैछ । कम्पनीले सर्वसाधारणलाई ८ करोड कित्ता सेयर निश्कासन गर्न लागेको हो । यो संख्या अहिलेसम्मकै धेरै हो । यसमा आवेदन दिने कसैको हात खाली हुने छैन ।

सिंगटी हाइड्रोपावर इनर्जीले आइपिओ निश्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले अंकित मूल्यमा ४३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न अनुमति पाएको छ ।

कम्पनीले दुई महिनाभित्र आइपिओ निश्कासन गर्नेछ। कम्पनीले दोलखा जिल्लामा १६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

अहिले नेपाल धितोपत्र बोर्डमा कम्पनी आइपिओ निश्कासनका लागि ’राम्रा’ कम्पनी पाइपलाइनमा छन् । ती हुन्, साहस ऊर्जा, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था र मध्य भोटेकोसी जलविद्युत आयोजना ।

साहस ऊर्जा

यो कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) आयोजना निर्माण गरिरहेको छ । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी एक करोड ५ लाख कित्ता सेयर निश्कासन गर्नेछ । बिक्री प्रबन्धकका रूपमा एनआइबिएल एस क्यापिटलले जिम्मा लिएको छ ।

सोलुखुम्बुको दूधकोशी गाउँपालिकामा निर्माण भइरहेको ८६ मेगावाटको आयोजना निजी क्षेत्रबाट बनिरहेको आयोजनामध्येकै ठूलो हो । सुख्खायाममा पनि अरूको तुलनामा यो आयोजनाबाट उत्पादन हुने विद्युतको दर उच्च हुने कम्पनीको दावी छ ।

ज्योति लाइफ इन्स्योरेन्स

पछिल्लो पटक सञ्चालनमा आएका बीमा कम्पनीमध्येको एक हो ज्योति लाइफ इन्स्योरेन्स ।

कम्पनीले ६६ लाख कित्ता सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएको छ। सेयर बिक्री प्रबन्धकका रूपमा एनएमबी क्यापिटल छ ।

सञ्चालनमा रही नाफामा गइसकेको कम्पनी भएकाले यसको सेयर दोस्रो बजारमा मूल्यवान हुने अनुमान छ ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ७६ पैसा छ भने प्रतिशत नेटवर्थ १३३ रूपैयाँ २३ पैसा छ। सो अवधिसम्म ५४ करोड ५७ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

महिला लघुवित्त वित्तीय संस्था

कम्पनीले ४ लाख कित्ता प्राथमिक सेयर निश्कासनका लागि बोर्डसँग अनुमति मागेको छ। सेयर बिक्री प्रबन्धकका रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ छ ।

दोस्रो बजारमा लघुवित्त कम्पनीहरूले राम्रो मूल्य पाउने गरेका छन्। यो कम्पनीको आइपिओ पनि आकर्षणमा देखिएको छ ।

मध्य भोटेकोसी जलविद्युत कम्पनी

कम्पनीले एक करोड ५० लाख कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न अनुमति मागेको हो। बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल छ । कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ ।

चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ ।

डिस मिडिया नेटवर्क

डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनका लागि आवेदन मागेको छ । टिभी च्यानल प्रदायक डिसहोमको यो सेयर निश्कासनका लागि बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छ ।

अन्य समूहको यो कम्पनी हाल सूचीकृतमध्ये फरक प्रकृतिको कम्पनी भएकाले आकर्षणका रूपमा लिइएको छ ।

यीबाहेक अरू कम्पनी पनि सेयर निश्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन् । न्यादी हाइड्रोपावर कम्पनीले स्थानीय प्रभावित र सर्वसाधारणका लागि गरी कुल ४० लाख ५० हजार कित्ता आइपिओ निश्कासनको अनुमति मागेको छ ।

कम्पनीले लमजुङको न्यादी खोलाबाट विद्युत उत्पादन गर्नेछ। ३० मेगावाट क्षमता रहेको कम्पनीको मुख्य स्टेकहोल्डर बुटवल पावर कम्पनी हो ।

तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निश्कासनको अनुमति मागेको छ ।

हिमालयन हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि गरी कुल २२ लाख ५० हजार कित्ता सेयर निश्कासनको अनुमति मागेको छ। त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल २५ लाख कित्ता सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएको छ ।

मर्चेन्ट बैंक सिबिआइएल क्यापिटलले तीन लाख कित्ता सेयर निश्कासनका लागि अनुमति मागेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता निश्कासनका लागि आवेदन दिएको छ । ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निश्कासन गर्न चाहेको छ ।

रूरू जलविद्युत आयोजनाले ८ लाख १५ हजार ४११ कित्ता सेयर निश्कासन गर्न स्वीकृति मागेको छ । सेतोपाटीबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्