रेल सञ्चालन दुई महिनापछि

नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ ।
रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँले रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने छ । उहाँले रेल सञ्चालनको सुरुमा प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।

रेल सञ्चालन गर्नुअघि भारतीय पक्षले तयार पारेको रेलको लिक हस्तान्तरण हुने र त्यसपछि रेल सञ्चालन हुने छ । ८४ करोड ६५ लाख रुपियाँमा जी टु जी प्रक्रियाबाट खरिद गरिएको दुईवटा रेल को २० प्रतिशत भुक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताउनुभयो । हाल जनकपुरधामको कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने सो रेल शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आएको र परीक्षणपश्चात् शनिबार साँझ भारतको जयनगरमा रहेको नेपाल रेल्वे स्टेसनमा लगेर पार्किङ गरिएको छ ।
जनकपुरधाम आएको दुईवटा इन्जिनसहित १० वटा बोगीमा एक हजार तीन सय यात्रु यात्रा गर्न मिल्ने नेपाल रेल्वे जनकपुरधाम साइट कार्यालयका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो । उहाँले रेल जनकपुरधाम आएपछि अब केही दिनमै रेल चल्ने पक्कापक्की भएको बताउनुभयो । वि.सं. १९९४ देखि नेपालमा सञ्चालनमा आएको रेल जीर्ण भएपछि २०७१ सालमा औपचारिकरुपमै बन्द भएको थियो । खास गरी धनुषाको अति विकट पूर्वी क्षेत्रका बासिन्दाको एक मात्र यातायातको साधन रहेको रेल सञ्चालनमा आएपछि धनुषाको सदरमुकाम जनकपुरधामसँगको सम्पर्क सहज हुने शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले बताउनुभयो ।

पहिलो चरणमा जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सञ्चालन हुने भएपछि जनकपुरधामको व्यापार व्यवसायमा पनि टेवा पुग्ने जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जीतेन्द्र महासेठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्