रेल सञ्चालन दुई महिनापछि

नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ ।
रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँले रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने छ । उहाँले रेल सञ्चालनको सुरुमा प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।

रेल सञ्चालन गर्नुअघि भारतीय पक्षले तयार पारेको रेलको लिक हस्तान्तरण हुने र त्यसपछि रेल सञ्चालन हुने छ । ८४ करोड ६५ लाख रुपियाँमा जी टु जी प्रक्रियाबाट खरिद गरिएको दुईवटा रेल को २० प्रतिशत भुक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताउनुभयो । हाल जनकपुरधामको कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने सो रेल शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आएको र परीक्षणपश्चात् शनिबार साँझ भारतको जयनगरमा रहेको नेपाल रेल्वे स्टेसनमा लगेर पार्किङ गरिएको छ ।
जनकपुरधाम आएको दुईवटा इन्जिनसहित १० वटा बोगीमा एक हजार तीन सय यात्रु यात्रा गर्न मिल्ने नेपाल रेल्वे जनकपुरधाम साइट कार्यालयका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो । उहाँले रेल जनकपुरधाम आएपछि अब केही दिनमै रेल चल्ने पक्कापक्की भएको बताउनुभयो । वि.सं. १९९४ देखि नेपालमा सञ्चालनमा आएको रेल जीर्ण भएपछि २०७१ सालमा औपचारिकरुपमै बन्द भएको थियो । खास गरी धनुषाको अति विकट पूर्वी क्षेत्रका बासिन्दाको एक मात्र यातायातको साधन रहेको रेल सञ्चालनमा आएपछि धनुषाको सदरमुकाम जनकपुरधामसँगको सम्पर्क सहज हुने शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले बताउनुभयो ।

पहिलो चरणमा जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सञ्चालन हुने भएपछि जनकपुरधामको व्यापार व्यवसायमा पनि टेवा पुग्ने जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जीतेन्द्र महासेठले बताउनुभयो ।–

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्