सुदूरपश्चिमका विभिन्न नाकाबाट साउन र भदौमा मात्रै २५ हजार भित्रिए १० हजार नेपाली बाहिरिए

लामो समय भारतको वैंग्लोरमा डिर्पाटमेन्ट स्टोरमा सेकुरेटी गार्डको काम गर्दै आउनुभएका घोडाघोडी नगरपालिका १ का केशव भट्ट बैंग्लोरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि काम छोडेर सपरिवार नेपाल आउनुभयो । साउनको अन्तिम तिर नेपाल आउनुभएका उहाँलाई नेपालमा बसेको दुई महिना नहुदै छट्पटि हुन थालेको छ । भट्ट भन्नुहुन्छ ‘अलि अलि कमाएको रकम छउन्जेल खाने अनी केही उपाय नलागेपछि फेरि भारततिरै जाने त होला ।’ भट्ट त एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ उहाँ जस्ता लाखौ नेपाली भारतमै दैनिक ज्याला मजदुरी गरेर घर खर्च चलाउँछन् ।

दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्नेहरुलाई कोरोना सङ्क्रमको डरले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता पर्न थालेको छ । घोडाघोडी नगरपालिका १ घोडाघोडी गाउँका रमेश क्षेत्रीको परिवारका तीनै जना भारतबाट फर्केको तीन महिना पछि पुनः कामका लागि भारत जानुभयो । भदौ दोस्रो साता तीन छोराहरु भारतको हिमाञ्चल प्रदेशमा स्याउ बोक्ने काममा गएको आमा नन्दा क्षेत्रीले बताउनुभयो ।
रोगले भन्दा नि भोकले मर्ने डरले जोखिम मोल्दै छोराहरु कमाउन भारत गएको नन्दाले बताउनुभयो । मलिन हुदै नन्दाले भन्नुभयो ‘दैनिक ज्याला मजदुरी गर्नेलाई कोरोनाको डर मानेर घर भित्रै बसेर खान पुग्दैन के गर्ने यता काम नै पाइदैन भारतमा श्याउ बोक्ने काम पाईन्छ भनेपछि गाउँकै अरु दश जनासंगै छोराहरुपनि स्याउ बोक्ने काममा गएकाछन् ।’

सूदुरपश्चिमको धार्चुला, झुलाघाट, गड्डा चौकी र गौरीफन्टा नाका भएर दैनिक नेपालीहरु भारतबाट नेपाल आईरहेकाछन भने पुनःभारततर्फ रोजगारीकालागि जाने गरेकाछन् । कोरोनाको सङ्क्रमको त्रास संगै रोजगारी गुमाएका नेपाली नेपाल आउने क्रम संगै दैनिक कामको खोजीमा जानेको संख्या पनि उतिनै छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो वर्षको साउन र भदौ महिनामा २५ हजार बढी नेपाली नेपाल भित्रिएका छन भने करिब १० हजार नेपाली भारत गएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ट उपरिक्षक मुकेश सिंहले कोरोना सङ्क्रमणको जोखिम बढीरहेको अवस्थामा समेत सुदूरपश्चिमका विभिन्न नाकाबाट दैनिक नेपाल आउने र भारतका विभिन्न शहर जाने नेपालीलाई उद्धार गरी ल्याने र पठाउने काम गरिएको बताउनुभयो विभिन्न नाका भएर भारतको दिल्ली,मुम्बई, पन्जाब,गुजरात, पुना, बैग्लोर र पिथौरागढ, हिमाञ्चल प्रदेश लगायतका ठाउँमा रोजगारीकालागि हजारौ नेपाली जाने गरेकाछन् ।

दार्चुलाको धार्चुला, बैतडीको झुलाघाट, कंञ्चनपुरको गड्डा चौकी र गौरीफन्टा नाका मध्ये सबैभन्दा बढी गौरीफन्टा नाकाबाट आउने र जानेको संख्या बढी रहेको पाइएकोछ ।

गौरीफन्टा नाकाबाट भारत जाने र नेपाल आउनेको संख्या बराबर

जिल्ला प्रसासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले लकडाउन र निषेधाज्ञा जारी भए पनि भारतबाट नेपाली आउने क्रम नरोकिएको बताउनुभयो । निषेधाज्ञा जारी भएयता गौरीफन्टा नाकाहुदै चार हजार ७०० नेपाली भित्रिएका छन् भने उक्त नाकाबाट चार हजार ३५० बाहिरिएका छन् । नेपालीहरु नेपाल आउने र जानेको संख्या बराबरी जस्तै देखिन थालेकोछ । लकडाउन हुदा वित्तिकै नेपाल आएका नेपालीहरु कोरोनाका कारण लामो समय र अवस्था उस्तै रहेपछि र आम्दानी नभइ दैनिक गुजारा गर्न मुस्किल भएपछि जोखिम मोल्दै पुनः भारत जान थालेका हुन् । जबकी भारत आफं संक्रमणको कहालीलाग्दो अवस्थामा छ

पछिल्लो समय नेपाल आउनेको संख्या दैनिक एकसय देखि तीन सय सम्म हुने गरेता पनि भदौ २२ गते भने एकहजार बढी नेपाली उक्त नाकाबाट भित्रिएका छन् । नेपाल भित्रिएका नेपालीहरुको विवरण लिई सम्वन्धित पालिकमा लिष्टपठाउने र नेपाल भित्रिएका नेपालीलाई गाडीको ब्यवस्थागरी गन्तब्यसम्म पुर्याउन सहयोग गरेको सूचना अधिकारी जोशीले बताउनुभयोे । सुदूरपश्चिमका विभिन्न नाका भएर भित्रिने अन्य जिल्लाका मानिसलाई सम्वन्धित जिल्ला प्रसासन कार्यालयमा लिष्ट पठाउने समेत गरिएको छ । यसरी नाकामा आएका नेपालीको विवरण सम्वन्धित जिल्ला तथा पालिकामा पठाउदा उनीहरुलाई क्वारेन्टाईन तथा परीक्षण व्यवस्थापनमा सहज हुनेगरेको समेत जनाइएकोछ ।

गोरखापत्र अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्