काठमाडौंमा जोखिम बढ्यो, नागरिकलाई आफैँ सचेत हुन विज्ञको आग्रह

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । बिहीबार मात्र उपत्यकामा १ सय २७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । उपत्यकामा सङ्क्रमणको जोखिम कम गर्न सरकारको मात्रै प्रयासले नपुग्ने भन्दै सबै नागरिक आफै सचेत हुँदै आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सुझाव जनस्वास्थ्य विज्ञको छ ।

काठमाडौं उपत्यकामा बिहीबार एकैदिन १ सय २७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन् । साउन २१ देखि २८ सम्म संक्रमण भएका तीन हजार २० नयाँ सङ्क्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्रै एक सातामा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् । तराई तथा भारतका विभिन्न स्थानबाट काठमाडौं प्रवेश गरेका कामदार तथा अन्य व्यक्तिका कारण उपत्यकामा कोभिड–१९ को जोखिममा उच्च वृद्धि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ ।

घनाबस्ती भएको काठमाडौंमा संक्रमण समुदायमा फैलिएमा बालबालिका,जेष्ठ नागरिक ,रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा दिर्घरोगीको स्वास्थ्यमा बढि खतरा हुने भएकोले सचेत हुन चिकित्सकको सुझाव छ ।

संक्रमण नियन्त्रण गर्न सरकारले काठमाडौं आवतजावतमा कडाइ गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न लगाएको छ । संक्रमण देखिएका विभिन्न स्थान शिल गरिएको छ । सबै नागरिकको सामुहिक सहयोगबाट मात्रै संक्रमणको फैलावटलाई रोक्न सकिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका न्युनतम मापदण्ड अनिवार्य पालना गर्न सबैमा आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्