एक अर्बको लगानीमा कागज कारखाना

कोरोना कहरले देशमा उद्योग व्यवसाय बन्द भइरहेको बेला एक अर्ब रुपियाँ लगानी गरेर चितवनका चार युवा उद्यमीले स्थापना गरेको क्वालिटी पेपर इन्डस्ट्रिजले भने व्यावसायिक उत्पादन सुरु गर्ने भएकोे छ । उद्योगले चितवनको भरतपुरमा बुधबार पत्रकार सम्मेलन गरी उत्पादन गर्न लागेको जानकारी दिएको हो । २०७५ देखि निर्माणको थालिएको उद्योगले झुरा र प्रयोगविहीन कागज प्रशोधन गरी पहिलो चरणमा प्याकेजिङका लागि प्रयोग हुने क्राफ्ट पेपर उत्पादन सुरु गरेको जनाएको छ ।

उद्योगका प्रबन्ध निर्देशक राजन पियाले परीक्षण उत्पादन सफल भएको र केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने बताउनुभयो । उहाँले ‘स्वदेशमै लगानी गरौँ, स्वदेशमै आत्मनिर्भर बनौँ, हाम्रो अभियान भन्ने नारासहित उक्त उद्योग स्थापना गरेको जानकारी दिनुभयो ।
पहिलो चरणमा १५० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी स्थापना गरिएको उक्त उद्योग त्यस प्रकृतिको कागज उत्पादन गर्ने नेपालको चौथो उद्योग भए पनि क्षमताको हिसाबले पहिलो भएको दाबी गरिएको छ । हाल नेपालमा सञ्चालनमा रहेका तीनवटा उद्योगले दैनिक १५० टन क्राफ्ट पेपर निकाल्ने क्षमता राख्छन् भने उक्त उद्योग दैनिक १२० टन उत्पादन गर्ने क्षमताको छ ।

स्वदेशमै प्राप्त हुने कच्चा पदार्थमा आधारित रहेको र रोजगार सिर्जना गर्न सक्ने उक्त उद्योगले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने दाबी सञ्चालकको छ ।
नवलपरासी पूर्व (नवलपुर)को अरुणखोलामा १५ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा विभिन्न पेसा र व्यवसायमा सफल चितवनका चार जना युवाले प्रभु बैङ्कको सहकार्यमा एक अर्ब रुपियाँ लगानी गरेको बताइएको छ । केही समयपछि न्युुजप्रिन्ट अर्थात् पीएमटूू कागजसमेत उत्पादन गर्ने लक्ष्य राखेको उक्त उद्योगले हाल दैनिक १५० टन कागजजन्य फोहरबाट १२० टन कागज उत्पादन क्षमता रहेको छ । प्रबन्ध निर्देशक पियाका अनुसार सुरुवातमा क्राफ्ट (खैरो) कागज उत्पादन गर्ने उद्योगले आगामी दिनमा लेख्ने कागजसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सम्मेलनमा दिइएको जानकारीअनुसार नेपालमा हाल दैनिक २५० टन क्राफ्ट पेपरको माग भए पनि नेपालमा १५० टन मात्र उत्पादन हुँदै आएको छ । उक्त उद्योगको सञ्चालनपछि नेपाली बजारलाई आवश्यक पर्ने क्राफ्ट पेपर नेपालमै उत्पादन हुने दाबी गरिएको छ ।

गोरखापत्र अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्