एक सातादेखि खानेपानी अवरुद्ध

बागलुङ – पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ । यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन् । सक्नेले महँगोमा ‘जार’ को पानीले खाँचो टारेपनि सबैको स्थिति उही छैन ।

पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा सर्वसाधारणको भीड देखिन्छ । कतिपयले बलेनीको पानी जोगाएर नुहाइधुवाइ गर्छन् । शौचालय बस्ने पानीसम्म नभएको उपभोक्ताको गुनासो छ ।

खानेपानी आउने भुदी खोलाको मुहान, दोविल्ला र रेशमा पहिराले क्षति पु¥याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । तीन दिनअघि मर्मत सकेलगत्तै दोविल्लामा पुनःपहिरो खस्दा पाइप बगेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।

“नेपाली सेनाको समेत सहयोगमा अहिले मर्मतको काम चलिरहेको छ”, उनले भने, “भोलिसम्ममा खानेपानी सुचारु हुन्छ ।” अर्जुनवाण गण घोडाबाँधेका जम्दार विवेक अधिकारीको नेतृत्वमा २० जना सैनिक पहिरो पन्छाउने र मर्मतको काममा खटिएका छन् ।

संस्थाका प्राविधिक दिनरात र झरी नभनी काममा लागेको प्रबन्धक शर्माको भनाइ छ । दोविल्लामा खसेको पहिरोले खानेपानीका १४ वटा पाइप बगाएको जनाइएको छ । ‘ग्याविन जाली’ भरेर त्यही माथिबाट पाइप ल्याउनुपर्ने भएकाले समय लागेको प्रबन्धक शर्माले बताए ।

अघिल्लो साता गएका पहिरोले भुदी, दोविल्ला र रेशमा गरी १७ वटा पाइप बगाएको थियो । निरन्तर वर्षाका बीच मर्मत गरिए पनि पुनः दोविल्लामा खसेको पहिरोले पाइपमा क्षति पु¥याएको हो ।– (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्