शनिबार संविधान संशोधन विधेयक पारित गर्ने तयारी

File Photo

काठमाडौँ – प्रतिनिधि सभाबाट शनिबार नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको जानकारी दिए । प्रतिनिधि सभाको बैठक शनिबार दिउँसो १ बजेका लागि डाकिएको छ ।

सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो । सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफलमा ८४ सांसदले धारणा राखेका थिए । त्यसपछि सरकारले ल्याएको संशोधनमाथि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिइएको थियो । समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी छिन् । गिरीलाई समाजवादी पार्टीका प्रमुख सचेतकले संशोधन फिर्ता लिन निर्देशन दिएका छन् । तर यो समाचार तयार पार्दासम्म उनले आफ्नो संशोधन फिर्ता लिएकी छैनन् । संशोधन दर्ता गराउने समय आज राति साढे ८ बजेसम्म छ ।

संविधान संशोधन प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गर्नेछन् । छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन हुनेछ । अर्थात् प्रतिनिधि सभामा सांसदहरूले संशोधनको पक्ष र विपक्षमा हस्ताक्षर गर्नुपर्नेछ । विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ । सेतोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्