‘अब बोलेर थपक्क बस्ने दिन गए, एक-एक हिसाब चाहिन्छ’ : गगन थापा (भिडियो सहित)

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको बताएको छ ।

कोरोना रोकथाम र नियन्त्रणमा समय पर्याप्त हुँदाहुँदै सरकारले प्रभावकारी काम नगर्दा मृत्यु हुने र संक्रमित संख्या वृद्धि भइरहेको सांसद गगन थापाले बताए । मंगलबारको संसद बैठकमा सांसद थापाले दश अर्ब कहाँ खर्च भयो? प्रधानमन्त्रीबाट जवाफ चाहिने बताए ।

‘दश अर्ब कहाँ खर्च भयो? हामीलाई जवाफ चाहिन्छ । पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाबकिताब देखाउनु पर्दैन ? एकएक हिसाब चाहिन्छ,’ उनले भने, ‘सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’ सरकारले हालै कोरोना नियन्त्रण तथा रोकथाममा दश अर्ब खर्च भइसकेको बताएको थियो ।

कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ. ? जस्ता प्रश्न सांसद थापाले उठाएका छन् । ‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ?’ उनले प्रश्न गरे। ‘अब सहयोग गर्छौं भनेर बस्दैनौं, उत्तर चाहिन्छ । दश अरब कहाँ खर्च भयो? हामीलाई एकएक हिसाव चाहिन्छ,’ उनले थपे ।

क्वारेन्टाइन भद्रगोल भएको भन्दै उनले प्रश्न गरे, ‘यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो?’ सरकारले पछिल्लो समय परीक्षण दायरा साँघुरो बनाएकोमा थापाले आपत्ति प्रकट गरे । ‘अब बोलेर थपक्क बस्ने दिन गए,’ उनले भने, ‘एकेक कुराको हिसाब चाहिन्छ । सरकारलाई अब सुतेर बस्न दिँदैनौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्