रुकुम (पश्चिम)को एक प्रहरी चौकीमा वडा अध्यक्षको टोलीद्वारा आक्रमण, वडाअध्यक्ष फरार, खोजी कार्य जारी

काठमाडौं – पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ । नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार वडाध्यक्ष केसीले मदिरा सेवन गरी सोही प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरेको र पछि केही युवा ल्याएर चौकी आक्रमण गरेको जनाएको छ । आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको कार्यालयका प्रवक्ता एवं डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

वडाध्यक्ष केसी अहिले फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । केसीसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । तर नगरप्रमुख देवीलाल गौतमले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । केसी तात्कालिन माओवादीबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्