तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश फर्किएका छन्। भारत सरकारको निमन्त्रणामा छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार नयाँदिल्ली पुगेका वाग्ले विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कूटनीतिक, आर्थिक–व्यावसायिक र प्राज्ञिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका हुन्।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। सीतारमणसँगको भेटमा विपद्पछिको पुनर्निर्माण, नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार, लगानी, ऊर्जा तथा सम्पर्क सञ्जाललगायत विषयमा छलफल भएको थियो।

वाग्लेले रसुवामा गएको भोटेकोशी बाढीपछि उद्धार तथा राहतका क्रममा भारत सरकारले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए। साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यका विषयमा प्रस्ताव राखिएको उनले बताएका छन्।

भ्रमणका क्रममा वाग्ले पूर्वविदेशसचिव श्यामशरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागिता जनाउनुका साथै प्रवासी नेपालीको प्रतिनिधिमण्डलसँग समेत भेट गरेका थिए।

शनिबार संविधान दिवसका अवसरमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा सहभागी भएका वाग्ले भारतीय उद्योग परिसंघले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। त्यसपछि दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

अर्थमन्त्रीको सचिवालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यलाई थप अघि बढाउने विषयमा विभिन्न पक्षसँग छलफल भएको थियो। विपद्पछिको पुनर्निर्माणका साथै व्यापार, लगानी र आर्थिक सहकार्यका सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्