सबैलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउँछौँ : सभापति थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै तह, वर्ग र समुदायका नेता–कार्यकर्तालाई समेट्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने बताउनुभएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सुरुआतमा सम्बोधन गर्दै थापाले पार्टीभित्र देखिएका असहमति र असन्तुष्टि सम्बोधन भइसकेको उल्लेख गर्दै अब एकताबद्ध भएर महाधिवेशनमा अघि बढ्नुपर्ने बताउनुभयो। सभापति थापाले नेपाली कांग्रेसलाई एउटा परिवारका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै सबैलाई समेटेर तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्ने बताउनुभयो। उहाँले पार्टीभित्र अड्किएका विषयहरू सम्बोधन भइसकेको र सबै पक्ष एक ठाउँमा उभिएकाले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन गर्न कुनै समस्या नरहेको बताउनुभयो। असोज १६ गते काठमाडौँको खुला मञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो।

उहाँले पार्टीलाई एक बनाउने विषय केवल नेताहरूबीचको सहमतिमा सीमित नराखी कांग्रेसबाट टाढिएका पुराना नेता, कार्यकर्ता, समर्थक तथा मतदातालाई समेत पुनः जोड्नुपर्नेमा जोड दिनुभयो। पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई व्यक्तिगत विवादको विषय नबनाई संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो। सभापति थापाले महाधिवेशनमा कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई सबै पक्षले पार्टीको हितका लागि केही न केही लचकता अपनाएर सहमति गरेको विषयका रूपमा लिन आग्रह गर्नुभयो। उहाँले महाधिवेशन सम्पन्न गरेपछि कांग्रेसलाई थप व्यवस्थित र एकताबद्ध बनाएर जनतामाझ जाने बताउनुभयो।

पार्टीका पूर्वसभापति तथा वरिष्ठ नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन सभापति थापाले आग्रह गर्नुभएको छ। वडा, जिल्ला तथा अन्य तहका अधिवेशनको जिम्मेवारी पाएका नेताहरूलाई सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दै उहाँले सहभागी हुन नसक्ने अवस्थामा पार्टी विधानअनुसार वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो। महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न समिति गठन गरी छोटो समयमै आवश्यक तयारी अघि बढाउनुपर्नेमा पनि सभापति थापाले जोड दिनुभयो। कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशनबाट १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने र असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

थापाले पार्टीभित्रको एकता नेताहरूबीचको समझदारीमा मात्र सीमित नराखी पार्टीबाट टाढिएका समर्थक र मतदातालाई समेत पुनः जोड्ने अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। उहाँका अनुसार कांग्रेसभित्रको मतभिन्नतालाई संवाद, सहमति र पार्टीको लोकतान्त्रिक प्रक्रियामार्फत व्यवस्थापन गर्दै अघि बढ्नु आवश्यक छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्